काठमाडौं - नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने १४ औं केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ।
कांग्रेस महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका काम तीव्रताका साथ अघि बढाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। उनका अनुसार महाधिवेशनको स्वागतद्वार र श्रृंगारका लागि नेपाली कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई संयोजक बनाइएको छ।
यसैबीच महाधिवेशनमा भाग लिन देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू आउने क्रम सुरु भइसकेको पनि प्रवक्ता शर्माले बताए। प्रवक्ता शर्माले कोरोना भाइरसको जोखिम कायमै रहेको र नयाँ भेरिएन्ट ओमीक्रोन पनि देखिएकोले स्वास्थ्य मापदण्डको पूर्ण पालनामा आफूहरु सचेत रहेकोसमेत जनाएका छन्।
त्यसैगरी महाधिवेशनस्थलमा नै कोरोनाको एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको प्रवक्ता शर्माले जनाएका छन्। उनले महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्क अनिवार्य गरिएको पनि बताए। उनले अन्य प्रकारका रोगका लागि पनि महाधिवेशनस्थलमै हेल्थडेस्क स्थापना गरिने जानकारी दिए।