काठमाडौं- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि बुधबार साँझसम्म पार्टीको १४औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ।मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलिसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो।
महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलि साँझसम्म आफूहरु पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए। त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उनले दाबी गरेका थिए।
‘नेपाली कांग्रेसको रुपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरुले आज विभिन्न कोणबाट छलफल गर्यौँ। हामी सहमतिको निकै नजिक पुगेका छौं। हाम्रो निर्णय भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ,' उनले भने, 'अबको चुनौती सामना कसरी सामना गर्ने र महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल भन्ने विषयमा छलफल गरेर हामी एउटा निष्कर्ष नजिक-नजिक पुगेका छौं। केही प्रक्रिया पूरा गर्न बाँकी छ। त्यो प्रक्रिया पूरा गरेर हामी भोलि साँझसम्म साझा उम्मेदवारको निर्णय सार्वजनिक गर्छौं।'
नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ। वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित नेता सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेदवारको आकांक्षी छन्। महामन्त्री शशांक कोइरालाले पनि आफू उम्मेदवार बन्ने बताउँदै आएका भएपनि सहमतिका लागि आफ्नो दाबी छोडेको मंगलबारै सार्वजनिक गरेका छन्। संस्थापन पक्षबाट शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्।