काठमाडौं- नेपाली कांग्रेसको सभापतिका लागि उम्मेदवारी घोषणा गरेका नेता शशांक कोइरालाले आफूले सभापतिका लागि दाबी छोडेको बताएका छन्। मंगलबार दिउँसो प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको संस्थापन इतर समूहका आकांक्षीहरुको बैठकपछि नेता कोइरालाले यस्तो बताएका हुन्।
'मैले दाबी छोडेँ,' उनले भनेका छन्। दाबी छोड्ने विषयमा रामचन्द्र पौडेल समेत सकारात्मक रहेको उनले उल्लेख गरेका छन्। उता शेखर कोइराला र प्रकाशमान सिंहले भने सभापतिमा दाबी छोडेका छैनन्।
'रामचन्द्रजीले एकपटक छोडी दिनु मेरो लागि भन्नु भएको छ। अरु आकांक्षी मिले उहाँले पनि छोड्न सक्ने संकेत गर्नुभएको छ। तर शेखर र प्रकाशमान छोडने पक्षमा देखिनु हुन्न,' नेता कोइरालाले भने।
यद्यपि साझा उम्मेदवार तय गर्ने विषयमा अन्तिम टुंगोमा पुगिनसकिएको र छलफल जारी रहेको उनले बताए।
'हामीसँग छलफल गर्नका लागि लामो समय अब छैन। राति टुंगिन नसके भोलि बिहान त पक्कै सकिन्छ,' उनको भनाइ छ।