काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन्। पार्टी सकिए आफ्नो र पार्टीका ९ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने उनको भनाइ थियो।
नेता थापाले ९ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यकताको बोध गराउन सके कांग्रेस विजयी बन्ने बताए। उनले नेपाली कांग्रेस चुनाव जित्छौँ भनिरहँदा आम जनताले कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताए।
‘कसले बिगार्यो कांग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ कांग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने कांग्रेस? कांग्रेस नसुध्रे के हुन्छ? सुध्रेन भने कांग्रेस सकिन्छ। कांग्रेस सकियो भने के हुन्छ? सकियो भने म नेपाली काँग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ,' उनले भने, 'मलाई चिन्ता लाग्ने सबै कुराहरु मेरा कुराहरु भए। हामी नौ लाख पार्टीका कार्यकर्ताहरू छौँ। हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो।'
उनले नेपाली कांग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि कांग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने गरेको उनको भनाइ थियो। 'यसको बोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौँ। नभए भएनौँ। हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले काँग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो,’ उनले भने।
नेता थापाले यो महाधिवेशनपछि नेपाली काँग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली काँग्रेससँग जोड्नुपर्ने उल्लेख गरे। पार्टीमा म्यासेज र म्यासेन्जर दुवै आवश्यक रहेको बताउँदै नेता थापाले पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभइ अन्य नागरिकहरुलाई जोडिने वातावरण सिर्जन गर्नुपर्ने बताए।