काठमाडौं– आशन्न १४ औं केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेसले जनाएको छ। यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशनका लागि तयारी लगभग सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
उनले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताए। प्रवक्ता शर्माले प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताए। उनले केन्द्रीय महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारको कामलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै महाधिवेशनको स्वागत द्वार र श्रृंगारको संयोजक केपाली कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई बनाएर काम अघि बढाइएको जानकारी दिए। प्रवक्ता शर्माले आजबाट सार्वजनिक रुपमा देखिने ढंगको प्रचारप्रसार र आन्तरिक रुपमा गर्नुपर्ने व्यवस्थापनका कुरामा गम्भीरतापूर्वक लागेको बताए।
प्रवक्ता शर्माले कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्क अनिवार्य गरेको बताए। उनले अन्य प्रकारका रोगहरुका लागि पनि महाधिवेशन स्थलमा नै हेल्थ डेस्क स्थापना गरिने जानकारी दिए।
प्रवक्ता शर्माले डिजिटल भोटिङको व्यवस्था गर्ने प्रस्ताव आएको भए पनि अब ढिलो भइसकेको भन्दै अबको दुई दिनमा पदाधिकारी र केन्द्रीय समितिको बैठक बसेर पहिलेकै व्यवस्थाअनुसार वा डिजिटलबाट भोट गर्ने भन्ने निर्णय गर्ने बताए। उनले यसपटक मतदाताको संख्या धेरै रहेकोले मत व्यक्त गर्न एक घण्टाको समय लाग्ने बताए। डिजिटल भोटिङको व्यवस्था गर्न सकेमा मत व्यक्त गर्न र गणना गर्न पनि कम समय लाग्ने उनको भनाइ छ।
प्रवक्ता शर्माले २०४६ सालको परिवर्तनपछि महाधिवेशन आयोजना गर्ने राजनीतिक दलले नीतिको कुरा गरेपनि त्यो भन्दा प्रधान विषय नेतृत्वमा चयन हुँदै आएको र यसपटक भने पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको प्रस्तावमा महाधिवेशनपछि लगत्तै नीति अधिवेशन हुने बताए। उनले यस महाधिवेशनमा नेतृत्व चयनको विषय भएकोले नीतिका कुराहरु नगरिने स्पष्ट पारे। प्रवक्ता शर्माले राजनीतिक दल आधुनिक र रुपान्तरित बन्दै जाँदा नीति अधिवेशन र नेतृत्व अधिवेशन फरक गर्नुपर्नेमा जोड दिए।
कांग्रेस, देश र समाज रुपान्तरणको लागि विभिन्न नेताहरुले राखेका कुरा केन्द्रीय महाधिवेशनको विषयवस्तु नबने पनि नीति अधिवेशनमा यिनै कुराहरुलाई विषयवस्तु बनाइने प्रवक्ता शर्माले बताए। उनले यो महाधिवेशन पूर्व घोषणाबमोजिम नेतृत्व चयनमै केन्द्रित हुने र पार्टीको महामन्त्रीको र अर्को पार्टीको कोषाध्यक्षको गरी महाविधेशनमा दुईवटा लिखित प्रतिवेदन पेश हुने बताए। प्रवक्ता शर्माले महासमितिको बैठकबाट अहिलेसम्म आइपुग्दा केन्द्रिय कार्यसमितिले गरेका कामहरुको विषयहरुलाई अनुमोदनको प्रस्ताव पनि पेश हुने बताए।