काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापन इतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका छन्।
सोमबार काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसलाई आफ्नो सम्पर्क कार्यालय सञ्चालन गरेका नेता सिंहले संस्थापन इतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका हुन्। उनले आफू प्राकृतिक उम्मेदवार भएको कारण पार्टीमा सभापति बन्ने पालो आएको बताए।
नेता सिंहले आफूले पाएको अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्यालाई विधिवत् तरिकाबाट सामना गर्न सक्ने सक्षम पार्टी आफू नेतृत्वमा पुगेपछि बनाउने दाबी गरे।
नेता सिंहले भने, ‘म नेचुरल क्यान्डेट हुँ। म अर्डिनरी वर्करदेखि लिएर विभिन्न पदमा बसेर, लामो समयसम्म पार्टीको विभिन्न जिम्मेवारी बहन गरिसकेको छु। मेरो लामो अनुभव भएको कारणले गर्दा र म पार्टीको केन्द्रीय उपसभापति तथा महामन्त्री भइसकेकोले अब टाइम आएको छ।'
उनले आफूले प्राप्त गरेको अनुभवहरूबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउने बताए। उनले आफूमा सबैलाई मिलाएर लैजाने क्षमता भएको समेत बताएका छन्।
नेता सिंहले संस्थापन इतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै पटक बैठक बसेको र आज पनि छलफल गरेर निर्णयमा पुग्ने बताए।