बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो

नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको छ। 

कांग्रेसले महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिका लागि चार दिनसम्म खाना, खाजा र बासको व्यवस्था मिलाएको छ। काठमाडौं आउन जान भने आफैंले खर्च बेहोर्नुपर्नेछ।

कांग्रेसमा वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन सकिएको छ। प्रदेश २ अधिवेशन भने महाधिवेशनलगत्तै गर्ने गरी स्थगित गरिएको छ। महाधिवेशन उदघाटन हुन तीन दिन बाँकी हुँदा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने क्रम ह्वात्तै बढेको छ। अधिकांशले आफ्नै जिल्लाबाट र केहीले काठमाडौंमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेसमा केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका आकांक्षी धेरै छन्। खासगरी उमेरहदका कारण पनि पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढेको हो। सभापतिमा ६ जनाभन्दा बढी आकांक्षी देखिएका छन्। जसमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शेखर कोइराला, कल्याणकुमार गुरुङ छन्।

देउवाले सोमबार फेरि एकपटक सभापतिमा उठ्ने घोषणा गरेका छन् । पौडेलले आकांक्षा देखाए पनि प्रकाशमान र शेखरका कारण उनको उठ्ने नउठ्ने निश्चित भइसकेको छैन । निधिले त सभापतिमा उठ्ने भनेर सम्पर्क कार्यालय नै खोलेका छन् । सिंहले मंगलबार सम्पर्क कार्यालय खोलेका छन् । गुरुङले पत्रकार सम्मेलन गरेरै सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।

उपसभापतिमा अहिलेसम्म चन्द्र भण्डारीले मात्र उम्मेदवारी दिने घोषणा गरेका छन्। गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। एनपी साउदले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्। तर, घोषणा गरेका छैनन्। डा. प्रकाशमान सिंहले महामन्त्रीमा दाबी गरे पनि उठ्ने नउठ्ने निश्चित छैन।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन्। केही दिनअघि नै पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। पाँचथरका नेता भीष्मराज आङ्देम्बेले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्। यस्तै, केन्द्रीय सदस्य जीवन परियारले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

केन्द्रमा कस्तो समीकरण बन्छ, त्यहीअनुसार पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनेर कुर्नेको संख्या पनि त्यत्तिकै छ। सबैभन्दा धेरै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा भएको छ। उदयशमशेर राणा, जितजंग बस्नेत, मदन अमात्य, अजय शिवकोटी, रामपल्टन साह, नवराज गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रकाशित: Dec 07, 2021| 12:02 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...