काठमाडौं- सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज बस्दैछ।कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन्।
त्यसका लागि सोमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेको थियो। बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा मंगलबार फेरि दिउँसो १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बस्न लागेको हो।
संस्थापनइतर समूहका नेता तथा कार्यकर्ताले भने साझा उम्मेदवार छिटो टुंगो लगाउन नेतृत्वलाई निरन्तर दबाब दिइरहेका छन्। महामन्त्री कोइरालाले साझा उम्मेदवार बन्ने अवस्था बने आफू पछि हट्ने संकेत दिएका छन्। तर, रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले भने एकले अर्कालाई छाड्ने ठाउँमा आइनपुगेको बताएका छन्।
कांग्रेसको १४ औँ महाधिवेशनको तयारी सुस्त
आगामी मंसिर २४ गतेदेखी २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी सुस्त देखिएको छ।
महाधिवेशन सुरु हुन ४ दिन मात्रै बाँकी रहदा अझैसम्म पनि तयारीले तिब्रता पाउन सकेको छैन। अधिकांश नेताहरु प्रदेश अधिवेशनमा रहेकाले तयारी केहि सुस्त देखिए पनि अब तिब्रता दिइने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ७ मध्ये ६ वटा प्रदेश अधिवेशन सम्पन्न भएको तथा प्रदेश २ को अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगीत गरिएकाले अब सबैको ध्यान महाधिवेशनमा केन्द्रीत हुने उनको भनाइ छ।
यसैबिच, नेपाली काँग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ। मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने प्रवक्ता शर्माले बताए। मंसिर २४ गते दिउसो १ बजे उद्घाटन हुने महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी र सदस्य चयन गर्नेछ।
विवाह पञ्चमी महोत्सवको अवसरमा विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द
सीता-राम विवाह पञ्चमी महोत्सवको अवसरमा आजदेखि जनकपुरधामका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन्।
जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै मंसिर २१, २२ र २३ गते शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो। विवाह पञ्चमी अन्तर्गत मंगलबार मटकोर हुँदैछ। भोलि त्रेतायुगमा जस्तै सीता-रामको सांकेतिक विवाह कार्यक्रम हुने जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए।
विवाह पञ्चमीमा नेपाल र भारतका लाखौं श्रद्धालु सहभागी हुने गर्छन्। यस्तै प्रदेश २ सरकारले विवाह पञ्चमीको मुख्य दिन भोलि सार्वजनिक विदा दिएको छ।
बैतडीमा जिप दुर्घटना मृतकको संख्या पाँच पुग्यो
बैतडीमा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
पाटन नगरपालिका-१ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ। से १ ज ८८८ नम्बरको जिप दुर्घटनामा परेर नवविवाहिता एक जोडीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा परेर सुर्नया गाउँपालिका-४ का २४ वर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० वर्षीया मनीषा विक, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो। मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए। उनीहरू घरबाट माइतीघर पाटन-७ कैलपाल फर्कंदै गरेको प्रहरीले जनाएको छ।
कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक भक्तपुर थिमीका ४७ वर्षीय सुरज खलाको मृत्यु भएको रहेको प्रहरीले जनाएको छ। आज बिहान कोटेश्वरको आकाशे पुल नजिकै रोकी राखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश ०२-०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको हो। घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
मनाङका बाढीपीडितलाई साढे पाँच महिनापछि राहत उपलब्ध
गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई साढे पाँच महिनापछि २ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ।
पूर्ण क्षतिको सूचीमा परेका तालगाउँका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री रामजी बरालले २÷२ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो। प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपैयाँ बजेट आएको थियो।
प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार १ लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख रुपैयाँ आएको उनले बताए। उनका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि हो ।
साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा भाग नेपाली महिला टोली आज बगंलादेश जाँदै
बंगलादेशमा आयोजना हुने साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा भाग नेपाली महिला टोली आज बगंलादेशको ढाका जाने भएको छ।
नेपाली महिला टोली आज दिउँसो साढे २ बजे हिमालयन एयरलाइन्सबाट बंगलादेश जाने कार्यक्रम रहेको एन्फाले जनाएको छ। च्याम्पियनसिपमा पाँच टिमले सहभागिता जनाउनेछन्। आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। सो खेल बंगलादेशको ढाकामा यही मंसिर २५ देखि पुस ७ गतेसम्म आयोजना हुने हुनेछ।