काठमाडौं- साझा उम्मेदवार छान्न भन्दै आज पनि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय बैठक बस्ने भएको छ। आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न वरिष्ठ नेता पौडेलले आज फेरि दिउँसो एक बजेका लागि बैठक बोलाएका छन्।
सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो। छलफलमा दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने सहमति बनेको थियो। सोही अनुरूप आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन पौडेलले बैठक बोलाएको स्रोतले बताएको छ।
पूर्वमहामन्त्री सिंह निवास चाक्सीबारीमा आज दिउँसो १ बजेका लागि पौडेल पक्षीय केन्द्रीय सदस्यहरूसहित बैठक बस्ने बताइएको छ।
सभापतिमा पौडेलसहित शशांक, प्रकाशमान र शेखर आकांक्षी छन्। प्रकाशमानले आजदेखि सम्पर्क कार्यालय नै खोलेर नेता तथा कार्यकर्तासँग भेटघाट थालेका छन्।
नेपाली कांग्रेसको संस्थापन इतर समूहको सोमबारको भेलामा महामन्त्री डा. शशांक कोइरालाले १४औं महाधिवेशनबाट आफूहरू नमिले शेरबहादुर देउवाले पुनः सभापति जित्ने बताएका थिए। देउवाको विकल्प खोज्ने भए आफूहरू एक भएर चुनाव लड्नुको विकल्प नभएको समेत उनको भनाइ थियो।
'हामी विभाजित भएर महाधिवेशनमा लडे देउवालाई पुनः जित्न सजिलो हुन्छ। त्यसैले देउवालाई पार्टीको नेतृत्वबाट हटाउने भए हामी मिल्नुको विकल्प छैन,' महामन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'हामी नमिले पार्टी उनैलाई बुझाए हुन्छ।'
यद्यपि सोमबारको बैठकमा कुनै निष्कर्ष भने निस्किएको थिएन। ठोस निष्कर्ष निकाल्नकै लागि आजको बैठक आह्वान गरिएको एक नेताले बताए।
७ मध्ये ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न हुँदा संस्थापन इतर समूहले २ वटा प्रदेशको नेतृत्वमा मात्र विजयी भएको छ। पौडेलको भूगोल मानिने गण्डकी र लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका उम्मेदवारले प्रदेश सभापति जितेका छन्।
तर, देउवा समूहले तीन वटा प्रदेशमा जित हासिल गरेकाले संस्थापन इतर समूह एक भएर महाधिवेशनमा जानुपर्ने दबाब बढेको छ। प्रदेश २ मा प्रदेश अधिवेशन हुन बाँकी छ।