काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलामा महामन्त्री डा. शशांक कोइरालाले १४औँ महाधिवेशनबाट आफूहरू नमिले शेरबहादुर देउवाले पुनः सभापति जित्ने बताएका छन्। देउवाको विकल्प खोज्ने भए आफूहरू एक भएर चुनाव लड्नुको विकल्प नभएको समेत उनको भनाइ थियो।
सोमबार साँझ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीहरूको भेला बसेको थियो। भेलामा देउवालाई पार्टीको नेतृत्वबाट हटाउनुपर्नेमा सबै एकमत देखिएका थिए।
'हामी विभाजित भएर महाधिवेशनमा लडे देउवालाई पुनः जित्न सजिलो हुन्छ। त्यसैले देउवालाई पार्टीको नेतृत्वबाट हटाउने भए हामी मिल्नुको विकल्प छैन,' महामन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'हामी नमिले पार्टी उनैलाई बुझाए हुन्छ।'
यद्यपि सोमबारको बैठकमा कुनै निष्कर्ष भने निस्किएको छैन। अबको दुई दिनभित्रै साझा उम्मेदवार तय गर्ने बैठकमा सहभागी एक नेताले दाबी गरेका छन्। यसका लागि निरन्तर छलफलमा रहने समेत समझदारी बनेको छ। उक्त समूहको अर्को बैठक मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंह निवास चाक्सिबारीमा बस्ने सहमति भएको छ।
'महाधिवेशनमा साझा उम्मेदवार तय गरेर जानुपर्ने विषयमा छलफल भयो। दुई दिन भित्र साझा उम्मेदवार चयन विषयमा समझदारी बनेको छ,' छलफलमा सहभागी एक नेताले भने, 'हामी आकांक्षीमध्येबाट एक जना मात्र उम्मेदवार तयार गर्छौँ।'
भेटमा संस्थापन इतरबाट समाभापतिमा दाबी गर्दै आएका शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी थिए।
७ मध्ये ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न हुँदा संस्थापन इतर समूहले २ वटा प्रदेशको नेतृत्वमा मात्र विजयी भएको छ। पौडेलको भूगोल मानिने गण्डकी र लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका उम्मेदवारले प्रदेश सभापति जितेका छन्। तर देउवा समूहले तीन वटा प्रदेशमा जित हासिल गरेकाले संस्थापन इतर समूह एक भएर महाधिवेशनमा जानुपर्ने दबाब बढेको छ। प्रदेश २ मा प्रदेश अधिवेशन हुन बाँकी छ।