काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशन तयारीबारे उपसमितिका संयोजकहरूसँग जानकारी लिएका छन्।
सोमबार पार्टी कार्यालय सानेपा पुगेका सभापति देउवालाई महाधिवेशन आयोजक समितिअन्तर्गतका उपसमितिका संयोजकहरूले हालसम्मको तयारीबारे जानकारी गराएका थिए।
महाधिवेशन कार्यक्रम व्यवस्थापन गर्न कांग्रेसले उद्घाटन कार्यक्रम उपसमिति, प्रचारप्रसार उपसमिति, आवास उपसमिति गठन गरेको छ। यस्तै स्वास्थ्य उपसमिति, खाद्यान्न उपसमिति, विदेशी अतिथि उपसमितिहरूले पनि देउवालाई तयारीबारे जानकारी गराएका थिए।
कांग्रेसको मतदानका विषयमा पनि देउवाले चासो राखेका थिए। कांग्रेसले २९३ वटा मतदान बुथ राख्ने भएको छ। मंसिर २४ मंसिरको दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ।
कांग्रेसले ७ मध्ये ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ। प्रदेश २ को अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय गरिएको छ। ६ मध्ये तीन वटा प्रदेशमा देउवाको समर्थन रहेका उम्मेदवारले प्रदेशको नेतृत्व पाएका छन् भने रामचन्द्र पौडेेल समूहले २ वटा प्रदेशको नेतृत्व लिन सफल भएको छ। देउवा पक्षको समर्थनमा प्रदेश १ को सभापतिमा भने सिटौला पक्षका उद्धव थापाले जित हासिल गरेका छन्।