नेपालमा पनि भेटियो ओमिक्रोन
नेपालमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको बिरामी नेपालमा पनि भेटिएको जानकारी दिएको हो। मंसिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय विदेशी नागरिकमा नयाँ भेटिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कन्ट्याकट्रेसिङमा ६६ जना रहेको र उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको बताएका छन्। दुवै जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षण गर्दा मंसिर १९ गते नयाँ भेटिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ। दुवै जना नेपाल आइसोलेसनमा रहेको सहप्रवक्ता अधिकारीले बताए।
अहिलेसम्म ओमीक्रोन नेपालसहित ४१ देशमा देखिएको पुष्टि भएको छ। कोरोनाको अन्य भेरियन्टभन्दा यो भेरियन्ट आक्रामक रहेको विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठन यस भेरियन्टको वास्तविकता पत्ता लगाउनका लागि अनुसन्धानमा लागेको छ। नेपालले ओमिक्रोन जोखिम न्यूनीकरणका लागि विभिन्न योजना बनाएर काम अगाडि बढाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ गुणराज लोहनीका अनुसार सिमानाकामा विशेष सतर्कता अपनाइएको छ।
नेपालले अन्तर्राष्ट्रिय नाकाहरूमा पीसीआर रिपोट अनिवार्य गर्ने, लक्षण तथा चिन्हको जाँच गर्ने र सिमानाकाबाट भित्रिने सबैको एन्टिजेन परीक्षण गर्ने, एन्टिजेन परीक्षणमा पोजेटिभ आएमा थप नमुना संकलन गरी पीसीआर परीक्षण गर्नेलगायतका काम अगाडि बढाइसके लोहनीले बताए। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अध्यागमन विभागले संक्रमणको पुष्टि भएका देशहरूबाट नेपाल प्रवेश अनुमति नदिने व्यवस्था गरेको उनले जानकारी दिए।
नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
७ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १ हजार ५ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३५७ जना निको भएका छन्।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ४४९ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ भने ८ लाख ४ हजार ९०१ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ जना रहेका छन्।
फेरि सभापति हुनेमा देउवा ढुक्क
नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी महाधिवेशनमा शेरबहादुर देउवा ५६ प्रतिशत मतसहित सभापतिमा विजयी हुने आंकलन गरेको छ। हालै सम्पन्न जिल्ला र प्रदेश अधिवेशनमा बलियो देखिएकाले महाधिवेशनमा पनि आफूहरू नै हाबी हुने देउवा पक्षका नेताहरूको निष्कर्ष छ।
यसअघि कांग्रेस महाधिवेशनमा सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुनसक्ने आकलन गरिएको थियो। तर, देउवा पक्ष पहिलो चरणबाटै नतिजा निस्किनेमा विश्वस्त देखिएको छ। हालसम्म ६ प्रदेशको नतिजा सार्वजनिक हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई २ वटा प्रदेशमा सिमित गर्दै देउवा पक्षले ४ प्रदेशमा जीत हासिल गरेको छ। देउवा पक्षले प्रदेश १, बागमति प्रदेश, कर्णली र सदुरपश्चिम प्रदेशमा जीत हासिल गरेको छ भने पौडेल पक्ष गण्डकी र लुम्बिनी प्रदेशमा विजयी भएको छ। जिल्ला र प्रदेशको नतिजासँगै देउवा पक्ष उत्साहित देखिएको छ। सोही आधारमा उसले केन्द्रिय सभापति जित्ने प्रक्षेपण गरेको हो।
महाधिवेशनपछि मात्रै कांग्रेसको प्रदेश २ अधिवेशन
आन्तरिक विवादका कारण नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन महाधिवेशनपछि मात्रै हुने भएको छ।
सर्लाही, बारा, सप्तरी र महोत्तरीका केहि क्षेत्रबाट मतदाता नामावली नआएकाले महाधिवेशनपछि मात्रै अधिवेशन गर्ने प्रदेशका नेताहरुले निर्णय गरेका हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए। उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउन सक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पारे।
शुक्रवार नै जनकपुरमा प्रदेश अधिवेशनको उद्घाटन सत्र सम्पन्न गरिएको थियो। तर प्रदेश २ का ६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनमा चरम विवाद देखिएकाले प्रदेश अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जनाएको छ। प्रदेश २ बाहेक बाँकी ६ प्रदेशमा भने अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेसको महाधिवेशन भने यहि मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ।
एमाले स्थायी कमिटी गठनको तयारी
नेकपा (एमाले)ले स्थायी कमिटी गठनको तयारी गरेको छ। दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी गठन गर्ने तयारी अनुरुप प्रारम्भिक खाका तयार पार्न थालिएको छ। एमाले अध्यक्ष ओलीनिकट एक नेताका अनुसार स्थायी कमिटी गठन गर्ने निश्चित मापदण्ड तय भएको छ। पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य हुने व्यवस्था छ। त्यसबाहेक यसअघि स्थायी कमिटीमा रहेका तर पदाधिकारीमा निर्वाचित हुन नसकेका नेताहरु स्वतः केन्द्रीय कमिटीमा पर्ने छन्। यसैगरी तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट आएकाहरुबाट दुईदेखि तीन जना समेट्ने तयारी गरिएको छ।
पदाधिकारीमा जम्मा दुईजना मात्रै महिला परेका कारण स्थायी कमिटीमा सकेसम्म धेरै महिला समेटिने बताइएको छ। यसैगरी दलितबाट पनि प्रतिनिधित्व गराउने तयारी भइरहेको बताइएको छ। एमालेले मंसिर २६ र २७ गते बोलाएको पार्टी केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी र पोलिटव्यूरो कमिटी गठन गर्ने तयारी गरेको छ। त्यसका लागि अध्यक्ष ओलीले आफू निकट नेताहरुसँग परामर्श गरिरहेका छन्। एमालेको विधानअनुसार स्थायी कमिटी ४५ र पोलिटव्यूरो ९९ सदस्यीय हुनेछ।
नेपाल एयरलाइन्सलाई रेडियोधर्मी सामग्री बोक्न पाउने अनुमति
सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) ले ‘डेञ्जरस गुड्स सर्टिफाइड एयरलाइन्स’ मान्यता पाएको छ।
नेपालको हवाइ नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउनेगरी प्रमाणपत्र दिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा क्यानका महानिर्देशक राजकुमार क्षेत्रीले एनएसीका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
सो कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धी भएको बताए। खतराजन्य पद्धार्थ आयात निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने दाबी गरे। उनले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको दाबी समेत गरे।
मन्त्री आलेले आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्याउने चाहना राखेको बताए। आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग कर्मचारीसँग आग्रह गरे।
३२ अंक बढ्यो नेप्से
दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार आएको छ। आज दिनभर उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ।
आइतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेको थियो। आज कारोबारमा आएका २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ। आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट नेप्से सोमबार भने सबै उपसमूहमा हरियाली छाएको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३.४५ प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत २.८८, फाइनान्स २.५४,अन्य उपसमूह १.६१, होटल तथा पर्यटन १.३९, माइक्रो फाइनान्स १.३५, व्यापार ०.१५, बैंकिङ्ग ०.७६, निर्जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन १.०६ र जीवन बीमा उपसमूहको परिसूचक ०.९२ प्रतिशतले बढेको छ।
मदरसा शिक्षा पनि पाठ्यक्रममा समावेश गरिने
सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिवद्धता जनाएका हुन्। उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह समेत गरे। मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री पौडेलले संविधानले समावेशीताको कुरा सुनिश्चित गरेपनि त्यसलाई कार्यान्वयन गर्ने कामले गति लिन नसकेको स्पष्ट पारे।
मन्त्री पौडेलले मदरसा शिक्षाको रुपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको पनि स्मरण गराए। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विद्यालय शिक्षालाई सुविधा सम्पन्न गराउने तर मदरसा शिक्षालाई बेवास्ता गर्ने काम सरकारबाट हुन नहुने बताए। उनले अझै पनि मदरसा शिक्षालयमा बोरा ओछ्याएर पढनुपर्ने अवस्था रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न मन्त्री पौडेलको गम्भिर ध्यानाकर्षण गराए।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मदरसा शिक्षालाई बेवास्ता गरिएको उल्लेख गर्दै सरकारको आलोचना गरिएको छ।
विवाह पञ्चमीमा प्रदेश २ मा सार्वजनिक बिदा
प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा दिने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सूचना जारी गर्दै पर्सी २२ गते बुधबार विदा दिने जनाएको हो। साथै कार्यालयले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ विवाह महोत्सवमा सहभागी हुन पनि आग्रह गरेको छ।
दुई समूहको विवादमा बडुवालको हत्या
कैलालीको लम्कीचुहाका भूपेन्द्र बडुवालको हत्या प्रकरणमा दुई समूहबीचको विवाद प्रमुख कारण भएको प्रहरीले जनाएको छ।
सोमबार कैलालीमा पत्रकार सम्मेलन गरी कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले स्थानीय जयन्द्र शाह र नवीन रावलको समूहमा आपसी मनमुटाव हुँदा हत्या हुने स्थितिसम्म पुगेको बताए। प्रहरीले बडुवाल हत्या प्रकरणमा २१ जनाविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेको छ।
बडुवालको हत्यामा संलग्न भएको आशंकामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु मध्ये रावलसहितका केही युवाको हत्यामा संलग्न रहेको र केहीले घटनामा सघाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। शाहीको गत कात्तिक २३ गते धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
सुकीलाई ४ वर्ष जेल
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ। सुकीलाई सैनिक सरकारले सेनाविरुद्ध मानिसलाई भडकाउने गतिविधि गरेको र कारोनाको नियम उल्लंघन गरेको आरोपमा म्यानमारको एक अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो।
७६ वर्षीया सुकीमाथि भ्रष्टाचार लगायत अन्य ११ वटा आरोप पनि लगाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। तर सुकीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप गलत भएको बताउँदै आएकी छिन्। म्यानमारमा गत वर्ष नोभेम्बरमा भएको आम निर्वाचनमा सुचीको पार्टी नेसनल डेमोक्रेटिक लिगले जित हासिल गरेको थियो। तर सेनाले चुनावमा धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गर्दै गत फेब्रुअरीमा म्यान्मारको सत्ता हातमा लिएको थियो। सेनाले गरेको कु को विरोधमा चर्किएको आन्दोलनमा १ हजार ३ सय जना भन्दा बढी नागरिकको ज्यान गइसकेको छ। सेनाले सत्ता हातमा लिएपछि सुचीलाई घरमै नजरबन्द गरिएको छ।
टी-२० वरीयतामा नेपाल यथावत
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल यथावत रहेको हो। नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ। यस अघि पनि नेपाल १२ औं स्थानमै रहेको थियो। टी–ट्वान्टीको वरीयतामा इंग्ल्यान्ड पहिलो, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन्।
न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौ स्थानमा छन्। एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ। टेस्टको वरीयतामा भारत शीर्ष स्थानमा उक्लिएको छ। नयाँ वरीयता अनुसार भारत शीर्ष स्थानमा उक्लिएको हो। टेस्टमा न्युजिल्याण्ड दोस्रो, अष्ट्रेलिया तेस्रो,इंग्ल्यान्ड चौंथो र पाकिस्तान पाँचौ स्थानमा रहेको छ।