बिहीबार, भदौ ४, २०८३

कांग्रेस महामन्त्रीका दाबेदार बालकृष्ण गृह प्रदेशमै कमजोर

कांग्रेस नेता बालकृष्ण खाण आफ्नो गृह प्रदेशमा कमजोर देखिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्रसमेत रहेका खाण आसन्न १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीका सम्भावित दाबेदार मानिए छन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

बुटवल- कांग्रेस नेता बालकृष्ण खाण आफ्नो गृह प्रदेशमा कमजोर देखिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्रसमेत रहेका खाण आसन्न १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीका सम्भावित दाबेदार मानिए छन्।

तर, उनले आफ्नो प्रदेश लुम्बिनीमा भने प्रभाव देखाउन सकेनन्। लुम्बिनी प्रदेश र जिल्लाहरूको अधिवेशनको नतिजाका आधारमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाण कमजोर देखिएका हुन्।

कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापतिमा रामचन्द्र पौडेल समूहका अमरसिंह पुन निर्वाचित भएका छन्। बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार साहलाई हराउँदै पौडेल पक्षका पुन सभापति निर्वाचित भएका हुन्। सभापतिमा निर्वाचित पुनले ८५२ मत ल्याएका छन् भने साहले ७६७ मत प्राप्त गरेका छन्। ८५ मतको अन्तरमा पुन निर्वाचित भएका हुन्। 

पदाधिकारीमा एक सभापतिबाहेक पुन प्यानल नै विजयी भएको छ। उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याई विजयी भएका छन्। खनाल भने संस्थापननिकट मानिन्छन्। 

त्यस्तै महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ। दुवैजना पौडेलनिकट हुन्। सहमहामन्त्रीमा विष्णु खनाल ८५९, खगराज पाण्डे ७७६ र निमा गिरी ८३० मत ल्याई निर्वाचित भएका छन्। ती सबै पौडेल समूहकै हुन्। सदस्यहरूमा पनि सबै पौडेल समूहकै विजयी भएका छन्।

गृहमन्त्री खाणको गृहनगर र बलियो पकड रहेको भनिएको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न वडा समेटेर बनेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने दुवै प्रदेशसभाका क्षेत्रीय अधिवेशनमा खाण समूहको प्यानल नै पराजित भएको थियो। 

आफ्नै प्रदेश लुम्बिनी प्रदेशको प्रथम अधिवेशन तथा जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशनमा देखिएको कमजोर नतीजाले महामन्त्री बन्ने खाणको चाहनामा गम्भीर धक्का पुग्ने देखिएको छ। गृहमन्त्री खाण पार्टीका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। खाणकै गृहजिल्ला रुपन्देहीका १० प्रदेशसभा क्षेत्रमा पनि उनको निर्वाचन क्षेत्रमा मात्र पकड देखिएको छ। 

गृहजिल्लाको नेतृत्व खाणकै भाइ रामकृष्णले पाए पनि अन्य पदाधिकारी तथा सदस्यमा पौडेल पक्ष हाबी छ। रुपन्देहीका प्रतिनिधिसभाका पाँचवटा क्षेत्रमध्ये तीनवटामा भने संस्थापनकै उम्मेदवार विजयी भएका थिए।

तर, लुम्बिनी प्रदेशको समग्र नतिजा हेर्दा खाण निकै कमजोर देखिएका हुन्। प्रदेशका १२ जिल्लामध्ये नौवटा जिल्लाको नेतृत्व पौडेल पक्षले लिएको छ। दुईवटामा मात्र संस्थापन पक्षका उम्मेदवारले जितेका छन् भने बाँके जिल्लाको अधिवेशन भएको छैन। लुम्बिनी प्रदेश अधिवेशनमा एक जना उपसभापतिबाहेक अन्य सबै पौडेल पक्षले जितेको छ।

यसअघि भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा गृहमन्त्री खाणका स्वकीय सचिव बिजेश न्यौपाने प्रदेश प्रतिनिधिमा पराजित भएका थिए। यसबाट पनि खाणको पकड कमजोर हुँदै गएको पुष्टि हुने संस्थापन समूहकै एक नेताले बताए।

गृहमन्त्री खाणको गृहनगर र बलियो पकड रहेको भनिएको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न वडा समेटेर बनेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने दुवै प्रदेशसभाका क्षेत्रीय अधिवेशनमा खाण समूहको प्यानल नै पराजित भएको थियो। सोही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता एवं खाणका विश्वासपात्र वीरेन्द्र कनौडियाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित भएका थिए। संस्थापनइतर समूहका नेता कुमार केसीले प्रदेशको समगै नतिजालाई हेर्दा खाण कमजोर देखिएको बताए। 

२०७४ सालमा प्रतिनिधिसभा चुनावअघि भएको स्थानीय तहको चुनावी परिणामले असुरक्षित देखिएपछि उनी समानुपातिकमा बसेका थिए। रुपन्देही क्षेत्र नम्बर ३ मा असुरक्षित महसुस गरेर उनी समानुपातिकमा बसेका थिए। स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका खाणका भाइ रामकृष्ण खाण एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए। तर, अब आउने संघीय संसदको निर्वाचनमा भने खाण रुपन्देही क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेको उनी निकट कार्यकर्ताहरू बताउँछन्।

पहिलो संविधानसभा निर्वाचन रुपन्देही–३ बाट लडेका खाँणले एमाले उम्मेदवार लिला गिरीलाई १२ सय मतले पराजित गरेका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदजार घनश्याम भुसाललाई सोही क्षेत्रमा ८५ मतले मात्र पराजित गरेका थिए। २०७४ सालमा भने कांग्रेस-राप्रपाका साझा उम्मेदवार दिपक बोहोरालाई भुसालले झण्डै पाँचहजार अन्तरमा हराएका थिए। 

यसले पनि खाण आफ्नै जिल्ला, क्षेत्र र प्रदेशमा कमजोर हुँदै गएको देखाउँछ। गत १४ कात्तिकमा भैरहवामा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाणले गठबन्धनबिना एमालेलाई हराउन सजिलो नभएको अभिव्यक्ति दिएका थिए।

प्रकाशित: Dec 06, 2021| 12:16 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...