बिहीबार, भदौ ४, २०८३

अहिलेको गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्र : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्र भएको बताएका छन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्र भएको बताएका छन्।

सोमबार बिहान बालुवाटारमा सञ्चारकर्मीहरुलाई बोलाएका देउवाले राष्ट्रियसभाको चुनावपछि गठबन्धन रहने–नरहने भन्ने विषयमा छलफल नै नभएको बताए।

उनले भने, ‘अहिलेको गठबन्धन राष्ट्रियसभाको चुनावसम्म मात्रै हो। त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएको छैन।’

राष्ट्रियसभा चुनाव  माघ १२ गतेका लागि तय भएको छ। राष्ट्रियसभामा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ। २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि माघ १२ मा चुनाव हुनेछ।

फरक प्रसंगमा देउवाले कांग्रेस सभापतिमा फेरि चुनिए आफूले अझ राम्रो काम गर्ने बताए। पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको उनले प्रस्ट पारे। भने, ‘पार्टीको विधानबमोजिम नै एक पटक सभापति बन्न चाहेको छु। यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु। व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। फेरि सभापति भएँ भने अझै राम्रो गर्न सक्छु। एकपटक मलाई सहयोग गरिदिनुस्।’

नेपाली कांग्रेसले महाधिवेशनमा भिडभाड नगर्ने उनले बताए। नेकपा (एमाले) ले हालै चितवनमा शक्ति प्रदर्शन गरेको सन्दर्भ उल्लेख गर्दै देउवाले आफूहरुले त्यसो नगर्ने बताए। ‘कांग्रेसले शक्ति प्रदर्शन गर्दैन। कोरोनाको जोखिम हटेको छैन, नयाँ भेरियन्ट पनि आइरहेको छ। यस्तो अवस्थामा संयमित हुनुपर्छ,’ देउवाले भने।

सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले हरसम्भव प्रयास गरेको बताए। ‘मेरो पहिलो कार्यकालमा सबैलाई मिलाएर लैजान प्रयास गरेको हुँ। पार्टीमा सुधारको प्रयास पनि गरेँ। त्यो प्रयासलाई सफल बनाउन फेरि एकपटक सभापति बन्छु,’ देउवाले भने। उनले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले आफूले पनि पत्रकारहरूको सद्भावको अपेक्षा गरेको बताए।

प्रकाशित: Dec 06, 2021| 12:06 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...