काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष हाबी भएको छ।
६ प्रदेशको नतिजा सार्वजनिक हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई २ वटा प्रदेशमा सीमित गर्दै देउवा पक्षले ४ प्रदेशमा जित हासिल गरेको छ। देउवा पक्षले प्रदेश १, बागमती प्रदेश, कर्णली र सुदूरपश्चिम प्रदेशमा कब्जा जमाएको छ भने पौडेल पक्ष गण्डकी र लुम्बिनी प्रदेशमा विजयी भएको छ।
आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी भएका छन्। देउवा पक्षका थापाले पौडेल–कोइराला समूहका गुरुराज घिमिरेलाई जम्मा दुई मत पराजित गरेका हुन्।
यस्तै बागमती प्रदेशको सभापतिमा देउवा पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। हिजो भएको दोस्रो चरणको निर्वाचनमा पौडेल पक्षका उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ सभापतिमा बिजयी भएका हुन्। त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाको अन्तिम परीणाम अनुसार पुनले सभापतिका अर्का प्रत्यासी भरतकुमार शाहलाई ८५ मतले पराजित गर्नु भएको छ। विजयी पुन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व छ।
राष्ट्रपति जुम्ला जाने
राष्ट्रपति विद्यादेवी भण्डारी आगामी साता जुम्ला जाने भएकी छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न राष्ट्रपति २६ मंसिरमा जुम्ला जान लागेकी हुन्। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला जाने कार्यक्रम तय भइसकेको छ।
त्यहाँ एमबीबीएस र प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुने कार्यक्रम छ। प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ। प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुनेछ।
भारतमा फैलिँदै ओमिक्रोन
भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ।
पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा आठ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो। यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ। भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ। यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो। अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित ३२ देशमा ओमिक्रोन फैलिएको छ।
प्रशिक्षणका लागि क्यानले बोलायो खेलाडी
क्यानले बोलायो नेपाल क्रिकेट संघ क्यानले यू–१९ पुरुष टिमको प्रशिक्षणमा २० खेलाडीलाई बोलाएको छ।
क्यानले एसीसी यू–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ। टोलीले पर्सी बुधबारबाट प्रशिक्षण थाल्ने छ।
एसिया कप युनाइडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ। एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ।