राप्रपामा नयाँ पुस्ताको उदय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुको मानमर्दन गर्न र कार्यकर्ताहरुको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताएका छन्।
नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीका निवर्तमान अध्यक्षहरुको जीवनकालमै आफ्नो पार्टीलाई मुलुकको बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता समेत व्यक्त गरे। आइतबार काठमाडौंमा सपथ ग्रहण गर्दै उनले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरुको भावनामाथि चोट नपुर्याई आफ्नो पार्टीलाई बलियो बनाउने बताए। नवनिर्वाचित अध्यक्ष लिङदेनले यो मोरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढता व्यक्त गरे।
नवनिर्वाचित अध्यक्ष लिङदेनले काँग्रेस र एमालेलाई पनि जोडेर आफूहरुले राप्रपालाई मुलुकको अग्रणी पार्टीको रुपमा अघि बढाउने बताए। उनले अव पार्टी भित्र कुनै पनि गुट नभएको दावी समेत गरे। लिङदेन कमल थापालाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।
आइतबार बिहान सम्पन्न मत गणनामा कमल थापालाई २२७ मत अन्तरले हराउँदै अध्यक्षमा लिङ्देन निर्वाचित भएका हुन्। लिङ्देनले १ हजार ८ सय ४४ मत ल्याए भने अध्यक्षका अर्का उम्मेदवार थापाले १ हजार ६ सय १७ मत पाए। ४१३ मत बदर भएको थियो। राप्रपाको पदाधिकारीमा भने कमल थापापक्षको बर्चश्व देखिएको छ। आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन्। पाँच जना पदाधिकारी थापा पक्षको निर्वाचित हुँदा लिङदेन पक्षका २ जना विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन्। उनी दुबै पक्षको प्यानलमा थिए।
यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान उपाध्यक्षमा विजयी भएका छन्। महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएकी छिन्। उनी थापा पक्षकी हुन्। महामन्त्रीमा भने लिङदेन पक्षका धवलशम्शेर राणा सर्वाधिक भोट ल्याएर विजयी भएका छन्। यसैगरि अर्को महामन्त्री पदमा भुवन पाठक विजयी भएका छन्। महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भएकी छिन्। नायिका रेखा थापालाई पराजित गर्दै उनी विजयी भएकी हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा पराजित भएका कमल थापाले अब पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ भएका छन्। उनी पक्षीय नेताहरुरुहको आज बसेको बैठकले राजसंस्थाको एजेन्डामा समर्थन गरेपनि ज्ञानेन्द्रलाई भने नबोक्ने निष्कर्ष निकालेको हो।
भोलमा अध्यक्ष लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी पदाधिकारी सहभागी थिए। अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको प्रारम्भिक समीक्षा बैठकका अधिकांश सदस्यले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेको सहभागी एक नेताले बताए। बैठकमा उपाध्यक्ष बुद्धिमान तामाङ, निरञ्जन थापालगायत नेताहरू ‘अप्रत्यासित नतिजा’ ले आफूहरु चकित भएको प्रतिक्रिया दिएका थिए।
यसैबिच, अध्यक्ष पदमा पराजित भएपछि थापाले आफ्नो हारपछाडी प्रमुख हात पूर्वराजा ज्ञानेन्द्रको रहेको टिप्पणी गरेका छन्। उनले ट्विट गर्दै पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका हुन्। उनले ट्वीटमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो भनेका छन्। उनले भनेका छन्, ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’ थापा नव निर्वाचित पदाधिकारसको सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन्।
तीन वटा प्रदेशमा कांग्रेले पायो नेतृत्व
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशनबाट हालसम्म तीन वटा प्रदेशले नयाँ नेतृत्व पाएको छ।
गण्डकी, कर्णाली र सुदुरपश्चिममा नयाँ नेतृत्व चयन भएको हो। गण्डकी प्रदेशमाको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा ६ सय १३ मत ल्याउँदै उनी सभापतिमा निर्वाचित भएका हुन्। सभापतिका अर्का उम्मेदवार अर्जुन जोशीले ५ सय २८ मत ल्याए। सभापतिमा निर्वाचित कास्कीका शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। पदाधिकारीमा एक उपसभापतिबाहेक बाँकी पदमा पनि पौडेल पक्ष नै विजयी भएको छ।
यस्तै नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन्। उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरे। ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए। अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत ल्याए। पदाधिकारीमा संस्थापन पक्षको प्यानलकै जित भएको छ।
त्यस्तै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवानिकट नेता बलायरले संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो। बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै ल्याए। पदाधिकारीमा बलायरको प्यानल नै विजयी भएको छ।
यसैबिच, प्रदेश १ को जारी मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट गुरुराज घिमिरेले अग्रता लिएका छन्। संस्थापन समूहका उद्धव थापा पछाडी परेका छन्। त्यस्तै लुम्बिनी प्रदेशको जारी मतगणनामा पनि रामचन्द्र पौडेल समूहले अग्रताले लिएको छ। पौडेल समूहका अमरसिहं पुनले अग्रता लिएका छन्। सभापति देउवा निकट भरत कुमार शाह भने पछाडी परेका छन्। बागमति प्रदेशमा भने आज आइतबार पुनः दोस्रो चरणको मतदान भएको छ। दोस्रो चरणको मतदानमा संस्थापन पक्षका इन्द्र बाँनिया र संस्थापन इत्तर पक्षबाट जगदिशनरसिंह केसी उम्मेदवार छन्। प्रदेश २ को निर्वाचन भने अनिश्चित बनेको छ।
लैंगिक हिंसा उन्मूलन गर्न महिला र पुरुषको बराबर सक्रियता आवश्यक : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताएकी छिन्।
आईतवार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनु बताउका हुन। उनले लैंगिक हिंसा उन्मुलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने कुरालाई आत्मसाथ गरेर अघि बढे मात्रै सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुग्न सक्ने बताइन। राष्ट्रपति भण्डारीले समाजमा शिक्षा र चेतना बिस्तार हुँदै जाँदा, महिलाको सामाजिक र आर्थिक अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैंगिक हिंसा विभिन्न रुपले अस्तित्वमा रहनु चिन्ताको विषय भएको बताइन।
राष्ट्रपति भण्डारीले वन व्यवस्थापनका माध्यमबाट जनताको जीविकोपार्जनमा सुधारका साथै वातावरण र जैविक विविधताको संरक्षण, जलवायु अनुकुलन र न्यूनिकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान पुग्ने बताएकी छिन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको छ।
ओमिक्रोनबाट सुरक्षित राख्ने काम थाल्न संसदीय समितिको निर्देशन
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनतालाई सुरक्षित राख्नका लागि आवश्यक तयारी थाल्न संसदीय समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासहित सिंहदरवारमा बसेका शिक्षा तथा स्वास्थ्य समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो। भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन्। कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पु¥याउन समेत उनले आग्रह गरिन्।
सरकारले भने वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई थप खोप दिने निर्णय गरेको छ। समितिको बैठकमा बोल्दै परिवार कल्याण महाशाखाका प्रमुख विवेक लाल कर्णले कोभिडको बुस्टर डोज दिनेबारे सरकारले निर्णय गरिसकेको जानकारी दिएका हुन्। यसैगरी सरकारले मंसिर अन्तिम वा पुस महिनाको सुरुदेखि बालबालिकालाई पनि कोभिडविरुद्धको खोप लगाउने तयारी गरेको छ।
यसैबीच, सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका सबै देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ। आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डाक्टर गुणराज लोहनीले यस्तो जानकारी दिएका हुन्। पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस छिमेकी मुलुक भारतमा पनि देखा परिसकेको छ।
बाघ गणना सुरु
राष्ट्रिय बाघ गणना २०२२ चितवनबाट सुरु भएको छ।
चितवनको सौराहामा एक कार्यक्रमको बिच वन तथा वातावरणमन्त्री मन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाको लागि जडान हुने क्यामरा अन गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन्। बाघ सर्वेक्षण उद्घाटन गर्दै मन्त्री यादवले सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता सहजै पूरा हुने बताएका छन्।
नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो। सन् २०१८ मा बाघको संख्या २ सय ३५ रहेकोले अब १५ वटा मात्रै बाघको संख्या बढे प्रतिबद्धता पुरा हुने भन्दै मन्त्री यादवले बाघको संख्या २५० पुग्नेमा विश्वस्त रहेको बताए।
नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाउनु भएको थियो। सन् २००९ मा नेपालमा १२१ वटा बाघ रहेको अनुमान गरिएको थियो। प्रतिबद्धताअनुसार सन् २०२२ मा बाघको संख्या २५० पुग्नुपर्ने हुन्छ। बाघ सर्वेक्षण २०२२ को लागि करिब ३ करोड ७० लाख खर्च हुने अनुमान गरिएको छ।
सेयर सूचक घट्यो
साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ। नेप्से परिसूचक दुई सातादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ। त्यसलाई निरन्तरता दिदैँ आइतबार पनि कारोबारमा भारी गिरावट आएको हो।
आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ। आज कारोबारमा आएका २२६ कम्पनीको ८९ लाख २० हजार कित्ता शेयर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ।
जसमध्ये वित्त उपसमूहको परिसूचक सबै भन्दा बढी ४.५४ प्रतिशत घटेको छ। त्यस्तै, व्यापार ४.२९ र विकास बैंक उपसमूहको परिसूचक ४.२७ ,जलविद्युत ३.२९, अन्य र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। बैंकिङ्ग २.३३, होटल तथा पर्यटन २.२७ , निर्जीवन बीमा २.१६ , उत्पादन तथा प्रशोधन २.०८, लघुवित्त २.६४ र जीवन बीमा उपसमूहको परिसूचक २.२७ प्रतिशतले घटेको छ।
सुरक्षाकर्मीको गोली लागी भारतमा १३ जनाको मृत्यु
भारतको नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर १३ जना सर्वसाधारणको मृत्यु भएको छ। नागाल्यान्डको ओटिङ इलाकामा शनिबार राति सेनाको कारबाहीमा उनीहरुको मृत्यु भएको हो। आधिकारिक रुपमा कति व्यक्तिको मृत्यु भएको छ भन्नबारे केही बताइएको छैन। समाचार एजेन्सी पीटीआईका अनुसार कम्तिमा १३ जनाको मृत्यु भएको बताइएको छ।
नगा पीपल्स फ्रन्ट पार्टीकोे नेता तथा नागाल्यान्ड राज्यको पूर्व मुख्यमन्त्री टी.आर.जेलियांगले १३ जनाको मृत्यु भएको दाबी गरेका छन्। घटनाप्रति केन्द्रीय गृहमन्त्री तथा राज्यका मुख्यमन्त्रीले दुःख प्रकट गर्दै उच्चस्तरीय जाँचबुझ कमिटी गठन गर्ने बताएका छन्। घटना जाँचबुझका लागि सेनाले कोर्ट अर्फ इन्क्वाएरी गठन गरेको छ।
लुम्बिनीलाई उपाधि
काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ।
आइतबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै उपाधि जितेको हो। फाइनल खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सम्पुर्ण विकेट गुमाएर २१२ रन तयार गरेको थियो।
२१३ रनको विजयी लक्ष्य पछ्याएको सुदुरपश्चिम २८.३ ओभरमा ९९ रनमा अलआउट भएपछि लुम्बिनीले सहज जित निकाल्यो। राउन्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो।
महिला फुटवल टिम घोषणा
बंगलादेशमा आयोजना हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपालले टिमको घोषणा गरेको छ।
मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्यीय टिमको घोषणा गरेका हुन्। साफ यू–१९ महिला च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन्। आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिनेछन्। नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ। राउन्ड रोविन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल डिसेम्बर २२ मा हुनेछ।