बिहीबार, भदौ ४, २०८३

'कमल थापाको पराजय अनुदार पुस्ताको अन्त्य'

नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठ कमल थापाको पराजयलाई अनुदार पुस्ताको अन्त्य भएको ठान्छन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा कमल थापाको १५ वर्ष लामो विरासत ढलेको छ। झापाका राजेन्द्र लिङ्देनले राप्रपाको पहिलो एकता महाधिवेशनमा थापालाई २२७ मतान्तरले पराजित गरेका छन्।

लिङ्देनले १८ सय ४४ मत पाउँदा थापाको पक्षमा १६ सय १७ मत आयो। हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएको राप्रपामा लिङ्लेन आएपछि नेपाली राजनीति नै तरंगित हुन पुगेको छ।

राजसंस्था हुँदा होस् वा राजसंस्थाको अत्यपछिको अवस्थामा, कमल थापा सधैं नेपाली राजनीतिमा महत्वपूर्ण खेलाडीको रुपमा रहँदै आएका छन्।  विचार मिल्ने–नमिल्ने सबै दलको सरकारमा सहभागी भएर उनले सत्तामा रजाइँ गरिरहेकै छन्। 

नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठ कमल थापाको पराजयलाई अनुदार पुस्ताको अन्त्य भएको ठान्छन्। ‘कमल थापाको पराजयले अनुदार पुस्ताको अन्त्य भएको देखाएको छ। नयाँ पुस्तामा पनि पुराना पुस्तालाई विस्थापित गर्ने क्षमता वृद्धि भएको छ। अब नेपाली राजनीति पुरानै एजेन्डा र सोचले अगाडि बढ्न सक्दैन भन्ने यो गतिलो प्रमाण हो,’ उनले भने।

अन्य दलले पनि यसबाट पाठ सिक्नुपर्ने श्रेष्ठ सुझाव दिन्छन्। ‘कमल थापाले आफूलाई राजतन्त्रको प्रतीक र हिन्दु राज्यको प्रवर्तकको रूपमा लिनुहुन्थ्यो। अब त्यो प्रवृत्तिको अन्त्य भएको छ। राजेन्द्र पनि फरक एजेन्डा बोक्ने पात्र त होइनन् तर उनमा कमल थापाको प्रवृत्ति देखिनु हुँदैन,’ उनले भने।

लिङ्देनले पनि बेलाबेलामा आफू राजा नजिकको मान्छे भएको देखाउन खोजेको र हिन्दु राज्य नै आफ्नो प्रमुख एजेन्डा भएको बताएकाले नेतृत्व फेरिँदैमा राप्रपामा धेरै नै राजनीतिक सोच भने नफेरिनेमा श्रेष्ठ ढुक्क छन्। उनका अनुसार एउटा कुरा भने अब नेपाली राजनीतिमा स्थापित हुने देखिएको छ। त्यो हो– अब कसैले पनि राजा र हिन्दु राज्यको मुद्दा अगाडि बढाएर राजनीतिमा स्थापित हुने सोच राखे त्यो पूरा हुँदैन।

नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठ कमल थापाको पराजयलाई अनुदार पुस्ताको अन्त्य भएको ठान्छन्।

श्रेष्ठ भन्छन्, ‘अहिले समय निकै अगाडि बढिसकेको छ। गणतन्त्रको मुद्दा र प्रक्रिया धेरै अगाडि पुगिसक्यो। अर्थिक विकासका लागि मान्छे स्वतन्त्रता चाहन्छ। काम गर्न मान्छे गाउँबाट सहर आएको अवस्था छ, तिनलाई स्वतन्त्रता नभइ हुँदैन। त्यसैले यहाँ राजतन्त्र टिक्दैन। विश्वका २८ देशमा राजतन्त्र सीमित छ। र, त्यहाँ पनि राजा भूमिकाविहीन छन्।’ पूर्वराजा र युवराजहरुको कर्तुतका जनताले नभुलेकाले राजसंस्थाको परिकल्पना दिवास्वप्न मात्रै हुने उनको विश्लेषण छ। 

निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन्। राप्रपा महाधिवेशनमा निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै उनले त्यसको भत्र्सना गरेका छन्। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भत्र्सना गर्दछु। धन्यवाद ज्ञानेन्द्र वीर विक्रम शाह,’ उनले ट्विटरमा लेखेका छन्। उनले आफूले उन्मुक्ति पाएको पनि बताएका छन्। ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्,’ उनले अगाडि भनेका छन्।

थापाको यो अभिव्यक्तिबाट राप्रपा राजाबाट पार्टी भएको प्रस्ट हुने राजनीतिक विश्लेषक श्रेष्ठ बताउँछन्। भन्छन्, ‘कमल थापाको कुराबाट के प्रस्ट हुन्छ भने राप्रपा राजाबाट चल्ने पार्टी हो। राजालाई बोकेर राजनीतिमा टिकिँदैन भन्ने पनि सन्देश दिएको छ। सबैले युग सुहाउँदो राजनीति गर्नुपर्छ। आफूलाई श्रीपेच विनाको राजा सम्झिए जोसुकै नेताको कमल थापाकै हालत हुन्छ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ
को हुन् लिङ्देन?

५६ वर्षीय राजेन्द्र लिङदेन झापाको हल्दिबारी गाउँपालिका–१ का बासिन्दा हुन्। उनी जन्मेको भने पाँचथरको अमरपुरमा हो। उनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन्। राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री हुँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। लिङ्देन झापाका लोकप्रिय नेता हुन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेपछि उनको लोकप्रियता झनै बढेको थियो।

लिङ्देन २०३६ सालबाट राजनीतिमा सक्रिय छन्। उनी २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भएका थिए। पछि २०४७ सालमा उनी राप्रपाको झापा जिल्ला सचिवमा रहेर काम गरे।

२०४९ सालमा राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बन्दा उनी संस्थापक अध्यक्ष बनेका थिए। २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रूपमा उनी कार्यरत रहे।

उनी स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका थिए। त्यसपछि २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिमा रहेर काम गरे।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित हुन पुगे। तर, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनले उनलाई पुनः चर्चामा ल्याइदियो। लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन्। लिङ्देन देशभरमा २०७४ सालको निर्वाचनमा राप्रपाबाट विजयी एक्लो प्रतिनिधिसभा सदस्य हुन्।

राप्रपा झापाका अध्यक्ष केशव ओझा लिङ्देनलाई सामान्य पृष्ठभूमिको नेता भएको बताउँछन्। नेपाल समयसँग कुरा गर्दै उनले भने, ‘उहाँ सामान्य परिवारको मान्छे हो। सानैदेखि अन्याय र भ्रष्टाचारको विरोध गर्दा गर्दै उहाँ विद्यार्थी राजनीतिमा होमिनु भएको हो। पछि पार्टी राजनीतिमा आउनुभयो र अहिले यो स्थानमा पुग्नुभयो।’

लिङ्देन सधैं जनताको माझमा रहने व्यक्ति भएको ओझाले बताए। झापा पुग्दा पनि उनी आफ्नो घरभन्दा समस्यामा परेका जनताको घरमा बढी हुने गरेको उनले सुनाए– ‘उहाँ पब्लिक लिडर हो। झापा जाँदा पनि समस्यामा परेका घरमा पुगेर सधै सहयोगमै तल्लिन हुनुहुन्थ्यो।’ 

लिङ्देन २०३६ सालबाट राजनीतिमा सक्रिय छन्। उनी २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भएका थिए।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीलाई अरूको भन्दा फरक ढंगले नेतृत्व दिने बताए। पार्टी अध्यक्षमा विजयी भएपछि आइतबार आयोजित सभामा लिङ्देनले पार्टीलाई सही दिशा दिन र नेता–कार्यकर्ताको शीर झुक्न नदिने बताउँदै अरू नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताए। अध्यक्ष लिङ्देनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, मालाखादा लगाइदिन र मुर्दावाद तथा जिन्दावादको नारा लगाउन आवश्यक नरहेको बताए।

पार्टीलाई विगतको जस्तो गतिहीन र निष्क्रिय बनाउने छुट आफूलाई नरहेको उनको भनाइ थियो। पार्टीलाई मात्र नभई पार्टीका मुद्दालाई जोड दिने उनले बताए। उनले बाध्यकारी कदमको रूपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरू नहुने समेत दाबी गरे। 

पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले ट्विट गर्दै राजालाई अनावश्यक विवादमा तानेकोमा उनले आपत्ति जनाए। ‘श्रद्धेय नेतामा दुई दिनमा आएको परिवर्तन देखेर हामी अचम्मित छौं। हिजो राजा सबैको साझा भन्ने नेताले आज किन यस्तो गरिरहनु भएको छ? हामी चाहन्छौं त्यो ट्विट उहाँको सचिवालयबाट भुलवश आएको होस्,’ उनले भने।

प्रकाशित: Dec 05, 2021| 13:35 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...