मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • थापा र लिङ्देनका आआफ्नै दाबी, फेरि संसद् चल्न नदिने एमालेको तयारी [२०७८-८-१७]

थापा र लिङ्देनका आआफ्नै दाबी, फेरि संसद् चल्न नदिने एमालेको तयारी [२०७८-८-१७]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्नेदले उम्मेदवारी दर्ता गराएका छन् ।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

थापा र लिङ्देनले दर्ता गराए उम्मेदवारी 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्नेदले उम्मेदवारी दर्ता गराएका छन्। शुक्रबार उनीहरुले राष्ट्रिय सभागृहमा दलबलसहित पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन समितिका एक सदस्यका अनुसार थापाको प्रस्तावकमा दीपक बोहरा रहेका छन् भने समर्थकमा निरञ्जन थापा रहेका छन्। यस्तै लिङ्देनको प्रस्तावकमा रामानन्द न्यौपाने र समर्थकमा विकास बहादुर महत रहेका छन्। 

मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार कमल थापाले आफूले अत्याधिक बहुमतबाट विजय हासिल गर्ने दाबी गरे। आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनलगायत सबैलाई समेटर पार्टीलाई अघि बढाउने उनको भनाइ छ। थापाले अब आफू नेतृत्वमा चुनिएपछि नेपालको राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, भ्रष्टाचारको अन्त्य, धर्म परिवर्तनको अन्त्य र बेरोजगारी समस्या समाधानको निमित्त सशक्त र प्रभावकारी भूमिका खेल्न सक्ने शक्ति निर्माण गर्ने दाबी गरे। 

मनोनयन दर्तापछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनले कुनै व्यक्तिगत महत्वाकांक्षा, पद प्राप्त गर्ने आकांक्षाले उम्मेदवारी नदिएको दाबी गरे। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकास्न, पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्न आफू नेतृत्वमा आएपछि कदम चाल्ने बताए। अध्यक्षका उम्मेदवार लिङदेनले अहिलेको नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताहरुको लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानबिन्दु हुने बताए। 

राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा थापा र लिङ्देन प्यानलसहित मैदानमा छन्। निर्वाचन समितिका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार रहेका छन् । यस्तै थापा प्यानलबाटै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन्। यसैगरी महामन्त्रीको उम्मेदवार भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन्।   

यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार रहेका छन् भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम रहेको छ। विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन्। पदाधिकारीका बाँकी उम्मेदवार भने कसैको प्यानलमा अटाएका छैनन्।  राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै छ।

छिटोभन्दा छिटो चुनावमा जानुपर्छ : एमाले

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रिय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन्। 

उनले सत्तारुढ पाँचदलीय गठबन्धन सरकारले लोकतन्त्रको आधार भत्काएको तथा मुलुकलाई भद्रगोल र गतिहीनताको अवस्थामा पुर्‍याएकाले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबी गरे। अध्यक्ष ओलीले सत्तारुढ केही दलको काम बिगार्ने र भत्काउनेबाहेक अरु केही नभएको समेत टिप्पणी गरे। 

अध्यक्ष ओलीले आगामी मंसीर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने समेत बताएका छन्। राष्ट्रपति विद्या भण्डारीले आगामी मंसीर २८ गते संघीय संसद बैठक आह्वान गरेकी छिन्  सो बैठक पनि चल्न नदिने अध्यक्ष ओलीले चेतावनी दिएका हुन्। उनले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका सांसदहरु बैठकमा आउने भएकाले आफूहरुले संसद बैठक चल्न दिन नसक्ने उनको भनाइ छ। उनीहरु गैर सांसद भएकाले उनीहरु आएको संसद बैठकलाई एमालेले चल्न दिन नसक्ने अध्यक्ष ओलीले बताए। उनले सभामुख अग्नीप्रसाद सापकोटाले सत्तारुढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश समेत ब्यक्त गरे। 

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको दशौं महाधिवेशन अत्यन्तै सफलताका साथ सम्पन्न भएको दावी समेत गरे। मुलुकलाई नयाँ गति दिनसक्ने टिम एमालेले छानेको उनको भनाइ थियो। 

विधान परिमार्जन गर्न ५ सदस्यीय उपसमिति बनाउने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ। 

शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीकोबैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो। विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए। प्रवक्ता महाराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिए। उनले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरु बनाइएको बताए। 

बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ। त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको छ।

बारको 'कमजोर' आन्दोलन जारी

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिईरहेको छ। 

शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र समेशेर जबराको राजीनामा माग गर्दै एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको हो। त्यसक्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरा कोरोना पोजेटिभ भएको अवस्थामा स्वास्थ्य प्रोटिकल पालना समेत नगरी अरु न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीश बन्न नदिनका लागि जबरजस्ती डिस्र्चाज भएको आरोप लगाए। 

उनले प्रधानन्यायाधीश जबराले संविधानको धारा १२९ को उपधारा ६ बमोजिम कुनै कारणले प्रधानन्यायाधीशले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा सर्वोच्च अदालतमा उपस्थिती हुन नसकेमा सर्वोच्चका वरिष्ठतम न्यायाधीशले कायममुकायम भएर काम गर्ने सक्ने व्यवस्था रहेको स्मरण गराउँदै बारले यो विषयमा अगाडि नै ध्यानाकर्षण गराएको प्रष्ट पारे। अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएको पाँच दिनमा नै डिस्चार्ज भएर न्याय सम्पादनको काम गर्नु गलत भएको भन्दै यस्तो गलत कामले आगामी दिनमा सर्वोच्च अदालतमा नराम्रो नजिर बस्ने जिकिर गरे। 

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले  कोरोना पोजेटिभ भइ आइसोलेशनमा बसेको व्यक्तिले सर्वोच्च अदालतको प्रशासनिक कामको लागि  हस्ताक्षर गर्नु गलत भएके टिप्पणी गरे। 

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने तयारी!

सत्तारुढ नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भईरहेको बताएका छन्।

नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्यूत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउन उपयुक्त हुने तर्क गरे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनने अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि छैन भन्ने पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन ढिलाई गर्न हुन्न भन्ने पक्षमा आफूले सुरुदेखि नै अडान राख्दै आएको बताए। वरिष्ठ अधिवक्ता समेत रहेका सांसद अधिकारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाएर पदच्यूत गर्न सकिने आधार पर्याप्त रहेको समेत दावी गरे। 

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसीर २८ गते संघीय संसद बैठक आह्वान गरिएको बताए। उनले प्रधानन्यायाधीश जबरालाई भ्रष्टको संज्ञा दिँदै छानवीनका लागि ११ सदस्यीय संसदीय छानवीन समिति गठन हुने जानकारी समेत दिए। दलहरुले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउन छलफल गरिरहेको समेत उनको भनाइ थियो। 

सांसद बिडारीले संसदले महाअभियोग लगाएपछि मात्रै प्रधानन्यायाधीश जबराको बर्हिगमन हुने पनि स्पष्ट पारे। 

शून्यमा झर्‍यो कोरोनाबाट मृत्यु हुनेको संख्या

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। बिहीबार भने ६ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणमुक्त हुनेको संख्या भने ३४७ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमति संख्या ६९२१ रहेको छ।

सातामा १४५ अंक घट्यो नेप्से

पछिल्लो एक हप्तामा नेप्से परिसूचक १४५.५९ अंकले ओरालो लागेको छ। रोल...

गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो। गत बिहिबारको तुलनामा यो साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो। यो सातामा शेयर बजार नेप्सेमा दैनिक ३ अर्ब हाराहारीमा मात्रै कारोबार भएको छ। यसरी शेयर कारोबार भएको ५ दिनमा १९ अर्ब ८८ करोड ७८ लाख ९ हजार बराबरको कारोबार भएको छ।

पछिल्लो साता नेप्से परिसूचकमा मौद्रिक नीतिको प्रभावले बुधबार बाहेक अन्य सबै बार निरन्तर गिरावट आएको छ। शेयर लगानीकर्ता मौद्रिक नीतिको समिक्षामा ४÷१२ करोड शेयर धितोकर्जाको सिमा परिर्वतन हुने आशमा रहेका थिए। तर, मौद्रिक नीतिको समिक्षाले ४÷१२ करोडको सिमा परिर्वतन गरेन। यसको प्रभाव आइतबारदेखि शेयर बजारमा परेको हो। 

काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न

ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो।

२०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठहरु काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा वागमती प्रदेशका सांसद राजेश शाक्यले बताए। उनले भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौँ शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको बताए। 

अध्यक्ष शाक्यले पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुङ्गा, माटो, इँटा, तामा लगायतका सामग्रीको प्रयोग गरिएको जानकारी दिए। उनले काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको पनि बताए। 

काष्ठमण्डप पुनर्निर्माणमा गत वर्ष ३ करोड ५२ लाख ८१ हजार ३७ रुपैयाँ ६४ पैसा र यस वर्ष ३ करोड ५६ लाख ६१ हजार १२४ रुपैयाँ ६० पैसा खर्च भएको समितिले जनाएको छ। काष्ठमण्डप पुनर्निर्माणका लागि ११ करोड ५० लाख विभिन्न निकायबाट अनुदान सहायता प्राप्त भएको थियो भने यसको पुनर्निर्माणमा करिव ११ करोड ३९ लाख खर्च भएको पनि समितिका अध्यक्ष शाक्यले बताए।   

श्रीलंकामा पनि भेटियो ओमिक्रोन

श्रीलंकामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। योसँगै हालसम्म ३२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ।

शुक्रबार श्रीलंकाका स्वास्थ्य अधिकारीले एक जनामा ओमिक्रोन पुष्टि भएको बताएका छन्। यसअघि बिहीबार भारतको कर्नाटक राज्यका २ जना पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। विभिन्न सञ्चारमाध्यमका अनुसार नयाँ भेरियन्ट फैलिएका मुलुकमध्ये युरोपमा १२ वटा छन्। एसियामा जापानसहित भारत, श्रीलंका, मलेसिया, इजरायल, दक्षिण कोरिया र हङकङमा ओमिक्रोन फेला परेको छ। सुरुमा पहिचान भएको दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमित बढ्दै गएका छन्।

थ्री स्टार र फ्रेन्ड्सको बराबरी

मक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँगको हारबाट जोगिएको छ।  सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको खेलमा एक गोलले पछि परेको अवस्थामा गोल गरेपछि थ्री स्टारले फ्रेन्ड्ससँगको हारबाट  आफुलाई जोगाएको हो। यससँगै दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। 

दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्री स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो। दोस्रो हाफमा दुबै टोलीले गोल गरेका हुन्। बराबरीपछि थ्री स्टारले ३ खेलबाट ४ अंक जोडेको छ। समान ३ खेल खेलेको फ्रेन्ड्सको २ अंक भएको छ। 

बागमतीविरुद्ध सुदूरपश्चिम विजयी

बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। रोल...

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई हराउँदै लुम्बिनीसँग उपाधि प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेको हो। ६ खेल मध्ये ४ खेलमा जित निकालेको सुदूरपमश्चिमले राम्रो रन रेट बनाउँदै शीर्ष दुईमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो। लुम्बिनीसँग उपाधि भिडन्तका लागि स्थान बनाउने क्रममा ९६ रनको लक्ष्य सुदुरपश्चिमले ३२.१ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो। यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन जोडेको थियो। यससँगै राजधानीमा जारी वाई–वाई यु–१९ क्रिकेट प्रतियोयिगतामा राउन्ड रोविन लिगका खेल सकिएका छन्। प्रतियोगितामा फाइनल खेल आइतबार हुनेछ। 


प्रकाशित: Dec 03, 2021| 19:56 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।