विराटनगर‒ नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश १ का जिल्ला अधिवेशन सकिएका छन्। यसअघि सम्पन्न अधिवेशनमा संस्थापन इतर समूह हाबी हुँदै आए पनि जिल्ला नेतृत्वमा संस्थापन समूहले उछिनेको छ।
पालिका अधिवेशनमा संस्थापन इतर समूह (पौडेल‒कोइराला) हाबी देखिएको प्रदेश १ मा जिल्ला अधिवेशनसम्म आइपुग्दा संस्थापन समूह अगाडी बढेको छ।
१४ जिल्ला सभापतिमा देउवा समूहका ७, पौडेल‒कोइराला समूहका ६ र सिटौला समूहले एक जिल्ला सभापति जितेको छ। पौडेल‒कोइराला समूहको बलियो पकड देखिएको प्रदेश १ मा देउवा पक्षले शक्तिशाली उपस्थिति देखाएको छ।
संस्थापन समूहबाट जिल्ला सभापति बन्नेहरूमा गजेन्द्र तुम्याहाङ ताप्लेजुङ, रूपनारायण जबेगु पाँचथर, तेजेन्द्र खनाल ओखलढुङ्गा, डम्बर खड्का इलाम, हिमाल कार्की उदयपुर, नाम्गेल जाङ्बु शेर्पा सोलुखुम्बु र दिनेश राई धनकुटा छन्।
केन्द्रमा देउवा‒सिटौला मिलेका कारण झापा सभापतिलाई पनि देउवा पक्षमै गणना गरिने कांग्रेस नेताहरूको भनाई छ। प्रदेश सभापतिका उम्मेदवार छनौटमा पनि देउवा‒सिटौला समूह एक भएका छन्।
झापामा कृष्णप्रसाद सिटौला निकट देउमान थेवे जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
केन्द्रमा देउवा‒सिटौला मिलेका कारण झापा सभापतिलाई पनि देउवा पक्षमै गणना गरिने कांग्रेस नेताहरूको भनाई छ। प्रदेश सभापतिका उम्मेदवार छनौटमा पनि देउवा‒सिटौला समूह एक भएका छन्।
पालिका तथा प्रदेश अधिवेशनमा केही कमजोर देखिएको संस्थापन समूह जिल्ला नेतृत्व हात पार्नमा पौडेल‒कोइराला समूहलाई उछिनेको छ।
प्रदेश अधिवेशन आज हुँदै
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश १ को अधिवेशन शुक्रबार बिहान सुरु हुँदैछ। नेतृत्व चयनमा नेताहरूबीच सहमति जुट्न नसक्दा बिहीबार उद्घाटन हुने भनिएको प्रदेश अधिवेशन अन्तिम समयमा आएर शुक्रबार बिहान ८ बजे सुरुहुने गरी स्थगित गरिएको थियो।
प्रदेश सभापतिमा कांग्रेस देउवा‒सिटौला समूहबाट झापाका पूर्व सभापति उद्धव थापा र पौडेल‒कोइराला समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेबीच प्रतिस्पर्धा हुने भएको हो। प्रदेश सभापतिमा दाबी गर्दै आएका राजीव कोइरालालाई उम्मेदवार हुनबाट रोकेपछि उनी असन्तुष्ट बनेको कांग्रेस नेताहरूले बताएका छन्।
प्रदेशको नेतृत्व आफूले मात्र गर्न सक्ने भन्दै उनले प्रदेश अधिवेशनको मिति तोक्नु अगावै उम्मेदवारी घोषणा गरेका थिए।