राप्रपामा लिङ्देन र थापा प्यानलको प्रतिस्पर्धा
राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
दुवै पक्षले पदाधिकारीमा लड्ने आफ्नो प्यानलका उम्मेदवारको नाम टुंगो लगाएका छन्। राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ। यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन्। यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ।
त्यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ। विक्रम पाण्डेको नाम भने दुबै पक्षले आफ्नो प्यानलमा राखेका छन्। राप्रपाको नयाँ नेतृत्व चयनका लागि भोलि शुक्रबार मतदान हुँदैछ भने अध्यक्षमा थापा र लिङ्देन भिड्दैछन्।
कांग्रेस प्रदेश अधिवेशन सुरु
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु भएको छ। सातै प्रदेशमा आज एकै साथ अधिवेशन सुरु भएको हो। कांग्रेस कार्यतालिकाअनुसार आज प्रदेश अधिवेशन उद्घाटन भएको छ भने नयाँ नेतृत्व चयनका लागि भोलि १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ ।
यसैबिच, नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाडै हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भइकाले पार्टीको अधिवेशन लगत्तै चुनाव तर्फ केन्द्रीत हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए। उनले पार्टी भित्रको आन्तरिक चुनाव हुने हार, जित स्वभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुन आग्रह गरे।
प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरेका छन्। उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी दिए।
महाधिवेशनपछाडि १६ जिल्लाको अधिवेशन
नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ। केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लामा महाधिवेशन पछाडि गर्ने जानकारी दिएका हुन्।
बुधबारसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। प्रदेश २ का आठ जिल्लामा भने अधिवेशन नै भएका छैनन्। प्रदेश २ मा क्षेत्रीय अधिवेशनसमेत हुन सकेको छैन। महाधिवेशनपछि मात्र अधिवेशन हुने जिल्लामा कैलाली, बाँके, सिन्धुली, चितवन र मकवानपुर छन्। यस्तै बारा, धनुषा, महोत्तरी र पर्सामा पनि महाधिवेशन पछि मात्र जिल्ला अधिवेशन हुने भएको छ। रौतहट, सर्लाही, सप्तरी, सिराहा, सिन्धुपाल्चोक, नवलपरासी (बर्दघाटपूर्व) र अछाममा पनि जिल्ला अधिवेशन पछाडि धकेलिएको छ।
समाजवादी यात्रा गर्न देशमा माओवादीको विकल्प छैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन्। बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहाल प्रचण्डले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका हुन्।
उनले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताए। अध्यक्ष दाहालले बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिष्ट भए पनि काम सामन्तीको भएको बताएका छन्।
अध्यक्ष दाहालले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरे। उनले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताए। उनले मधेशी जनताको, दलित, जनजातीहरुको हकहीतको कुरालाई लिएर आफूले संविधान संसोधनको प्रश्ताव राख्दा एमाले नामको केपी गुटले नमान्दा संसोधन हुन नसकेको उल्लेख गरे। अध्यक्ष दाहालले नेकपा एमाले जनजातीको, दलित, महिला, मुस्लिमहरुको हक अधिकार र पहिचानको बिरोधी रहेको आरोप समेत लगाए।
अध्यक्ष दाहालले देशभर अहिले झन्डै ८ लाख सदस्यहरु नेकपा माओवादी केन्द्रमा नवीकरणमा आइसकेको भन्दै अझै केही समय पाएमा त्यो संख्या १० लाख पुग्ने दाबी गरे। उनले जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्र, जनता र उनीहरुको मुक्ति आन्दोलनलाई निस्कर्षमा पु¥याउने कुरा जनतासमक्ष प्रश्तुत गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गरेका छन्।
आफू बिदामा नबस्ने प्रधानन्यायाधीशले गराए जानकारी
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई बिदामा नबस्ने जानकारी गराएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशहरुको भेलामा एक न्यायाधीशसँग टेलिफोनमा कुरा गर्दै जबराले आफ्नो स्वास्थ्य अवस्था सुधार भएकाले शुक्रबार निवास फर्कने जानकारी गराएका हुन्। उनले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्।
कोरोना संक्रमण भएपछि गत सोमबार साँझदेखि प्रधानन्यायाधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका थिए। विहीबार न्यायाधीशहरुको छलफलका क्रममा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश जबरालाई फोन गरेका थिए। त्यसक्रममा जबराले आफू संक्रमित भएर अस्पतालमा उपचाररत रहेको, शुक्रबार निवासमा फर्किने भनी जवाफ दिएको भनी कार्कीले अरु न्यायाधीशहरुलाई जानकारी गराएका थिए।
चोलेन्द्रलाई बिदा बस्न सत्तारुढको सुझाव
सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बस्न सुझाव दिएका छन्। पाँचदलीय गठबन्धनले जबरालाई बिदामा बसी कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको बैठकमा सहभागी सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार प्रधानन्यायाधीश जबरा बिरामी भएकाले तत्काल कार्यवाहक तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष गठबन्धनको छ।
बुद्धकालीन शिक्षा उच्च तहसम्मको पाठ्यक्रममा राख्नुपर्छ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तह सम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी छिन्। बिहीवार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव एवम् केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी हुन्।
उनले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण र सम्बद्र्धनमा अग्रसर हुनुपर्ने पनि बताइन्। जमिनमुनि दबिएका पुरातात्विक तथा सांस्कृतिक महत्वका वस्तुहरु अझैसम्म फेला परिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तिनको अन्वेषणमा सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्ने बताइन्।
राष्ट्रपति भण्डारीले लुम्बिनी विकास गुरुयोजना चाडैँ कार्यान्वयन हुन सकेमा लुम्बिनी उत्कृष्ट अन्तर्राष्ट्रिय, सांस्कृतिक पर्यटकीय स्थल बनेर देशकै अर्थतन्त्रमा टेवा पुर्याउने बताइन्।
सेयर बजारको ओरालो यात्रा कायमै
मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ। साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा ५ अंकले बढेर सुधारको संकेत देखाएको थियो। तर बिहीबार पुनः नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्दा २ हजार ६ सय भन्दा तल झरेको छ।
नेप्से परिसूचक २ हजार ५ सय ८४ दशमलव ६१ अंकमा झरेको छ भने कारोबार रकममा पनि उल्लास देखिएन। दिनभर भएका ४७ हजार ८ सय ६४ कारोबारबाट २३१ कम्पनीका ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता शेयर किनबेच भएका छन्। बिहीबार नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीको शेयर मूल्य घट्दा समूहगत सवइन्डेक्सहरु सबै घटेर राताम्मे देखिएका छन्।
३१५ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २०१ जना निको भएका छन्।यो सगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ४९५ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ भने ८ लाख ३ हजार ३६९ जना संक्रमणमुक्त भएका छन्।
समाधान भएन हुम्ला खाद्य संकट
हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न ढुवानीमा फेरि अवरोध आएको छ। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले आइतबार र बुधबार दुई दिन ढुवानी गरिए पनि फेरि ढुवानीमा अवरोध आएको जानकारी दिए। उनका अनुसार भारी हिमपातका कारण ढुवानी रोकिएको हो।
लिमीका स्थानीय खाद्यान्न माग गर्दै हुम्ला सदरमुकाम सिमीकोट पुगेपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ काठमाडौं आएका थिए। उनले गृह मन्त्रालय लगायत निकायसँग खाद्यान्न ढुवानीका लागि पहल गरिदिन आग्रह गरेपछि नेपाली सेनाको हेलिकप्टरबाट सुरु गर्न पहल गरिने भएको थियो। तर, ढुवानी नसकिँदै बिहीबारदेखि फेरि अवरोध आएको हो।
यता, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा लिमीमा खाद्यान्न ढुवानी भइरहेको प्रतिक्रिया दिएको छ। कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले तत्काल लिमीमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा खाद्यान्न ढुवानी भइरहेको बताइन्।
भारतमा पनि भेटियो ओमिक्रोन भेरियन्ट
छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले २ जना ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। संक्रमितहरु कर्नाटकमा राज्यमा फेला परेका हुन्। ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहसचिव अग्रवालले बताए।
योसँगै कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ। ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिाकामा नोभेम्बर २६ मा फेला परेको थियो।
भारतकै अर्को प्रसंगमा दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन्।
दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएका छन्। भारतको सर्वोच्च अदालत (सुप्रिम कोर्ट) ले पनि आज बिहीवार आदेश जारी गर्दै आपत्कालीन अवस्थामा असाधारण कदम चाल्न दिल्ली सरकारलाई आदेश दिएको छ।
दिल्ली सरकारले प्रदूषण धेरै भएका ठाउँहरूमा यस अगाडिदेखि नै विद्यालय बन्द गरेको थियो। तर अझै कैयौँ बालबालिका विद्यालय गइरहेको देखिएकाले तत्काल विद्यालय बन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। सरकारले भोलिदेखि विद्यालय बन्द गरे/नगरेको अनुगमन गर्ने जनाएको छ।