सर्लाही- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तेस्रो पटक सर्लाहीमा अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत पनि सम्पर्कविहीन भएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन कमिटीले सर्लाहीमा तेस्रो पटक जिल्ला निर्वाचन अधिकृतको रूपमा खटाएको भरत राउत बिहीवार बिहानैबाट सम्पर्कविहीन बनेका हुन्। कडा विवादका बीच वडा अधिवेशन गराएका निर्वाचन अधिकारी राउत बाँकी केही वडाको अधिवेशन सम्पन्न गर्ने र शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन गराउने तयारीमा थिए।
तर, निर्वाचन अधिकृत राउत सम्पर्कविहीन भएसँगै शुक्रबारको लागि तय भएको प्रदेश र क्षेत्रीय अधिवेश समेत अनिश्चित बनेको छ। जिल्लास्थित सुरक्षा निकायको सम्पर्कमा समेत राउत नरहेका स्राेतको भनाइ छ। जिल्लामा सोमबार भएको वडा अधिवेशनअन्तर्गत मुख्य गरी निर्वाचन क्षेत्र नम्बर ४ मा चर्को विवाद देखिएको थियो।
सोही क्रममा दुई पटक गोलीसमेत चलेको थियो। निर्वाचन क्षेत्र नम्बर ४ स्थित प्रतिनिधि सभा सांसद अम्रेश कुमार सिंह र प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह बीच कडा टकरावकोस्थिती सृजना भएको छ।
विवाद उग्र बन्दै गएको, एकअर्काको अस्तित्व मेटाउने खेलमा नेता लागेपछि असुरक्षा महसुस गर्दै निर्वाचन अधिकृत राउत काठमाडौं फर्किएको हुन सक्ने केहीको अनुमान पनि छ। तर, हालसम्म यसको पुष्टि भने हुन सकेको छैन।
कांग्रेसका संस्थापन पक्षमा मानिनै जिल्ला सभापति र इतर पक्षसँग समेत राउत सम्पर्कमा नरहेका नेताहरूको भनाइ छ। सर्लाही कांग्रेसको अधिवेशन गराउन खटिएका दुई निर्वाचन अधिकृत दुई पक्षको चर्को विवाद देखेपछि निर्वाचन गराउन नसक्ने भन्दै राजीनामा दिएर काठमाडौं फर्किएका थिए।
निर्वाचन अधिकृत सम्पर्कविहीन बनेपछि फेरि एक पटक सर्लाहीका कांग्रेस नेता कार्यकर्तामा निराशा छाएको छ। अन्तिम समयमा आएर अधिवेशन प्रक्रिया अन्योलमा परेपछि सर्लाहीबाट कांग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधि सहभागी हुने सम्भावनासमेत अनिश्चित बनेको छ। एसबी थापा/न्युज कारखाना