पोखरा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन्। पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए।
‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन्। केपी ओलीहरू एकातिर छन्। परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? अहिले मैले सम्झाउन जरुरी छ। हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौंला,’ उनले भने, ‘गएको चुनावमा के भयो? सबै एकातिर हामी अर्काेतिर। परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने?’
उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए। ‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौं। सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन। पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ। अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र ? यो कुरालाई ध्यान दिनुहोस्। भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम। कांग्रेसलाई आईसोलेसनमा पुर्याउने कुरा नगरौं।’
यसअघि बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस आगामी चुनावमा कसैसँग नमिल्ने बताएका थिए। ‘आउँदो निर्वाचनमा तिक्तता नहोस्। कांग्रेसले कसैसँग मिल्नु हुँदैन। कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ। र हामी विजय हासिल गर्छौं। त्यो अठोट हामीसँग हुनुपर्छ,’ उनले भने। कोइरालाले पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तासँग आग्रह गरेका थिए।