जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि नेपाली कांग्रेस ड्राइभिंग सिटमा आउन आवश्यक रहेको बताएका छन्। संविधानको सफल कार्यान्वयन नेपाली कांग्रेसले मात्रै गर्न सक्ने भएकोले देशको नेतृत्व गर्नका लागि ड्राइभिङ सिटमा आउनु आवश्यक रहेको बताए।
नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनको प्रमुख अतिथिको आसनबाट बोल्दै उपसभापति निधिले सबै जात, धर्म, मधेशी, आदिवासी, जनजाती लगायतका वर्गको समान प्रतिनिधित्व गराउनका लागि नेपाली कांग्रेसले सरकारको नेतृत्व पाउनु पर्छ। ‘मधेसी, आदिवासी, जनजाती, सबै धर्मको प्रतिनिधित्व गराउनका लागि कांग्रेस गम्भिर छ, यसका लागि सरकारको नेतृत्व कांग्रेसले पाउनु पर्छ,’ उनले भने।
नेपाली कांग्रेसको जारी महाधिवेशनलाई आगामी निर्वाचनसँग जोडेर हेर्नका लागि समेत कांग्रेसी कार्यकर्ताहरुलाई आग्रह गरे। 'अहिलेदेखि नै तयारी शुरु गर्नुस, निधिले भने ‘कम्युनिष्टहरु वा तथाकथित मधेशवादीदलहरु संविधानको सफल कार्यान्वयन गराउन सक्दैनन्, कांग्रेसले मात्रै गर्न सक्छ,’ उनले अगाडि भने, ‘मधेशी जनताको अधिकार सुनिश्चित गराउन संविधान संशोधनका लागि कांग्रेस तयार छ।’
एक अर्को प्रसंगमा नेता निधिले नेपाली कांग्रेस अब गठबन्धनमा चुनाव नलड्ने संकेत समेत दिए। कांग्रेसले देशमा बहुमतको सरकार बनाउनका लागि एक्लै वडादेखि प्रदेश तथा संघसम्म चुनाव लड्नुपर्ने निधिको भनाइ थियो। उनले भने, ‘अहिले देखि नै तयारी गरे नेपाली कांग्रेस केन्द्र, प्रदेशसम्ममा सरकार एक्लैले सरकार बनाउन सक्छ। निधिले देशभरीमा बहुमत ल्याउनका लागि प्रदेश २ मा कांग्रेसलाई जिताउनु पर्ने बताए,' उनले भने, ‘नेपाली कांग्रेस प्रदेश २ मा नजिते देशमा बहुमत ल्याउन सम्भव छैन। त्यसैले प्रदेश २मा नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्छु।’