बिहीबार, वैशाख २०, २०८१

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
 |  बिहीबार, मंसिर १६, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं– केही महिना अघिसम्म पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई लाग्थ्यो, पार्टीमा सारा नेता आफ्नो विपक्षमा उभिए पनि राजेन्द्र लिङ्देनले मेरो साथ छाड्नेवाला छैन्, मलाई एक्लो हुन दिने छैनन्।

triton college

हुन पनि २०६२ र २०७४ सालमा पार्टी फुट्दा होस् वा २०७४ मा पार्टीको सर्मनाक पराजय हुँदा किन नहोस्, लिङ्देन थापाको पक्षमा उभिएका थिए। थापाको कदमलाई शीरमा बोकेर हिँडेका  थिए। सायद, लिङ्देन मात्रै यस्ता नेता हुन्, जसले कमल थापालाई एक पाइला पनि एक्लै छाडेका थिएनन्। 

तत्कालीन राजा ज्ञानेन्द्र शाहको कदमको समर्थन गर्ने–नगर्ने भन्ने विषयलाई लिएर राप्रपा विभाजित भएको थियो। राजाको कदमको समर्थन गर्दै कमल थापाले २०६२ पुस २६ गते राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरे। त्यस समय अधिकांश नेताले उनको साथ छाडेका थिए। तर, लिङ्देन थापाको पक्षमा उभिए। 

मुलुकबाट राजतन्त्र बिदा भएपछि राजाको समर्थन गर्ने दलका नेताहरुमाथि आक्रमणको खतरा उच्च थियो। त्यो बेला पनि लिङ्देनले राजावादी बनेर थापालाई साथ दिए। त्यसबेला पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरुले राजतन्त्रको पक्षधरता छाडेर गणतन्त्र स्वीकार गरेका थिए। पूर्वपञ्चहरुको पार्टी भनेर चिनिएको राप्रपामा त्यस समय राजतन्त्रको वकालत गर्ने र गणतन्त्रको समर्थन गर्ने दुई धार बन्यो। २०७२ सालमा यी दुई धार बोकेका राप्रपा फेरि एकीकृत भए। तर, एकता दुई वर्ष पनि टिकेन। २०७४ सालमा फेरि राप्रपा फुट्यो, यस समय पनि नेता लिङ्देन थापाको पक्षमा उभिए। 

२०७० सालको दोस्रो संविधानसभा चुनावमा २५ सिट जितेको राप्रपाले २०७४ को निर्वाचनमा करिब पत्तासाफ हुनेगरी पराजय बेहोर्यो। त्यसबेला राप्रपाले जम्मा एक सिट जितेको थियो। र त्यो जित हासिल गर्ने भाग्यमानी नेता थिए, राजेन्द्र लिङ्देन। झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई १३ हजार ४ सय ५५ मत अन्तरले पराजित गरेका उनले त्यसबेला बाम गठबन्धनको पनि समर्थन पाएका थिए।

corrent noodles
Metro Mart

त्यसबेला पार्टीको सर्मनाक पराजय भएको भन्दै अधिकांश नेताहरुले कमल थापाको राजीनामा मागेको स्मरण गर्दै नेता मोहन श्रेष्ठ भन्छन्, ‘बुद्धिमान तामाङ, जयन्त चन्दजस्ता नेताहरुले अध्यक्ष पद छाड्न चर्को दबाब दिएपछि एक अनौपचारिक बैठकमा थापाले राजीनामा दिन तयार भएका थिए। तर, अध्यक्ष थापाको राजीनामा झापामा रहेका लिङ्देन रातारात काठमाडौं आएर रोके। पार्टीमा थापाको अझै खाँचो छ भन्दै उनले राजीनामा नमाग्न अरु नेताहरुसँग आग्रह गरे। फलस्वरुप थापाको राजीनामा रोकियो।’ 

यस्ता कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्। थापालाई पार्टीबाट विस्थापित गर्ने गरी प्यानल नै बनाएर अध्यक्षमा उम्मेदवारी दिएका छन्। थापालाई लागेको थियो, अध्यक्ष पदका लागि पशुपति शमशेर राणा वा डा. प्रकाशचन्द्र लोहोनी प्रतिस्पर्धीको रुपमा आउने छन्। तर, त्यसविपरीत आफैंले महामन्त्री बनाएका नेता लिङ्देनले थापालाई चुनौती दिएका छन्। बरु राणा र लोहनी ब्याक भएका छन्। 

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।

लिङ्देनले अब नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने भन्दै थापालाई विश्राम लिन आग्रह गरेका छन्। युवा पुस्ताको नेतृत्व गर्न अघि बढिरहेका लिङ्देनको भाषामा भन्ने हो भने अहिलेका नेताहरुले आफूहरुलाई गर्व गर्नसक्ने ठाउँमा पुर्याउनै सकेनन्। यसको विकल्प भनेको नयाँ नेतृत्व निर्माण नै हो। त्यसैले राप्रपाको नेतृत्व लिन नेता–कार्यकर्ताकै सल्लाह बमोजिम आफू अघि बढेको उनको उनको भनाइ छ। उनले पुराना नेताहरुलाई अभिभावकीय भूमिकामा बस्न आग्रह गर्दै भनेका छन्, ‘तपाईंहरूको योगदान, भूमिका राप्रपामा अझै पनि चाहिन्छ। तर, कार्यकारिणी भूमिकामा परिवर्तन गर्नुपर्छ। एकचोटि भूमिका फेरेर हेर्नुपर्यो।’  

अध्यक्ष थापालाई चुनौती दिँदै पार्टीको नेतृत्व लिन तम्सिएका लिङ्देनलाई युवा नेताहरुको मात्रै साथ छैन, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीको पनि समर्थन छ। अध्यक्ष पशुपति शमशेर राणा भने अहिलेसम्म लिङ्देन र थापा दुवैको पक्षमा खुलेका छैनन्। सहमति गरेर पार्टीमा नयाँ पुस्तालाई स्थापित गर्दै जानुपर्नेमा राणाको जोड छ। त्यसैले उनले अध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेका छन्।  

बुधबार काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोह।
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेर कमल थापालाई आश्चर्यमा पारेका लिङ्देनको पक्षमा राप्रपाका अर्का प्रभावशाली नेता धवल शमशेर राणा पनि उभिएका छन्। पार्टी अध्यक्षमा नेता लिङ्देनलाई प्रस्ताव गर्दै राणाले पार्टीलाई उठाउने जिम्मेवारी लिनुपर्ने भएकाले नेतृत्व परिवर्तन गर्न आवश्यक भएको बताएका छन्। ‘हजारौँको संख्यामा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा जनलहर आएकाले राजनीतिक रुपमै राजतन्त्र र हिन्दू राष्ट्रको मूल्यमान्यतालाई स्थापित गराउन पनि नयाँ नेतृत्व आवाश्यक भएकाले लिङ्देनलाई समर्थन गरेको हुँ,’ नेता राणाले बताए। 

लिङ्देनलाई लोहनी र राणासहित विक्रम पाण्डे, पूर्वउपाध्यक्ष ढंक ढकाल, दिलविकास राजभण्डारी, तारानाथ लुइँटेल, पूर्वमन्त्री रामकुमार सुब्बा, जगत गौचन, दुर्गा श्रेष्ठ, रामचन्द्र्र राय, काठमाडौंका पूर्वमेयर राजाराम श्रेष्ठ, नायिका रेखा थापालगायतको समर्थन छ।

पार्टीका शीर्ष नेता लिङ्देनको पक्षमा देखिए पनि प्रदेश अधिवेशनको नतिजा भने मिश्रित देखिन्छ। प्रदेश १ मा कमल थापा पक्षका राम थापा विजयी हुँदा प्रदेश २ मा लिङ्देन पक्षका भरत गिरी सर्वसम्मत भएका छन्। यस्तै, गण्डकी प्रदेशमा लिङ्देन पक्षकै हेमजंग गुरुङ चुनावबाट निर्वाचित हुँदा सुदूरपश्चिममा पनि लिङ्देन पक्षका धर्मराज जोशी सर्वसम्मत भए। लुम्बिनी प्रदेशमा निर्वाचित प्रदीप उदय दीपक बोहरा निकटका हुन् भने कर्णाली प्रदेशमा सर्वसम्मत सभापति चुनिएका दीपबहादुर शाही पशुपतिशम्शेर जबरा निकटका हुन्।

कम छैनन् कमल पनि 

पञ्चायतकालदेखि नै मन्त्री भएका कमल थापा बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दा गृहमन्त्री, परराष्ट्र मन्त्रीदेखि उपप्रधानमन्त्रीसमेत भइसकेका छन्। राजनीतिशास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनी २०६० सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरेदेखि नै पार्टीको नेतृत्वमा छन्। प्रजातान्त्रिक शक्ति इतरका पार्टीहरुमध्ये मजबुत मानिएका थापा नेता–कार्यकर्तालाई आफ्नो पक्षमा तान्न माहिर मानिन्छन्। 

थापा पार्टीलाई अनुभवी र योग्य नेतृत्व चाहिएको भनी प्रचार गरिरहेका छन्। नेतृत्व हस्तान्तरणका बारेमा केही पनि नबोलेका उनी अझै एक कार्यकाल आफूलाई पार्टी हाँक्ने जिम्मेवारी दिन अपिल गरिरहेका छन्। थापाको कुरामा समर्थन गर्दै नेतृ नानु आचार्य भन्छिन्, ‘नेतृत्व पाको, अनुभवी र राष्ट्र तथा अन्तर्राष्ट्रले पत्याएको हुनुपर्छ। रहरले मात्र नेतृत्व स्वीकार्य हुँदैन।’ 

थापाले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताएका छन्। उनले एकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताए। 

‘अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति मलाइ छैन,’ अध्यक्ष थापाले भने। राप्रपालाई अग्रणि शक्तिको रुपमा स्थापित गर्ने र वैचारिक धार बनाउन बाँकी रहेकोले अध्यक्ष बन्न लागेको उनको तर्क छ। ‘यो अभिभारा पूरा गर्ने मेरो प्रयास हुनेछ। आर्यघाटमा नपुगेसम्म पद नछोड्ने मेरो मानसिकता छैन। निजी काम र घुम्न बाँकी छ। शारीरिक रुपमा सक्षम हुँदा नै निजी काम गर्नु छ,’ उनले भने, ‘मैले कुनबेला विश्राम लिनुपर्छ भन्ने मलाई थाहा छ। आगामी निर्वाचनपछि अग्रणि संस्थाको रुपमा स्थापित गरेपछि, वैचारिक धार बलियो भएपछि, हिन्दू राष्ट्रको आधार तयार भएपछि विश्राम लिन्छु।’ 

कूटनीतिक मामिलामा समेत पोख्त मानिने कमल थापालाई पूर्वमन्त्री दीपक बोहरा, बुद्धिमान तामाङ, जयन्त चन्द, ध्रुवबहादुर प्रधान, फत्तेसिंह थारू, प्रेमबहादुर भण्डारी लगायतले समर्थन जनाएका छन्। तर, अध्यक्ष पनि लिङ्देनको पक्षमा उभिएको खण्डमा भने नेतृत्व हात पार्न उनलाई फलामको चिउरा चपाउनुसरह बन्ने देखिएको छ।

प्रकाशित: Dec 02, 2021| 18:30 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...