काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
हेटौंडामा भएको कांग्रेस बागमती प्रदेश अधिवेशन उद्घाटन समारोहमा नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पुर्याउन आग्रह गरे।
‘नेतृत्व चयन गर्दा होस नपुर्याउने, अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने?,’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ। नेतृत्व चयन गर्दा तपाईहरुले ध्यान दिनुपर्छ।’
साथै उनले कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताए। ‘संविधान जारी गरी जनतामा जाँदा दुईतिहाई त कांग्रेसले पाउनु पर्ने हो। तर कम्युनिष्टहरुले प्राप्त गरे,’ उनले भने। संविधान जारी कांग्रेसले गरेको र संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको उनको टिप्पणी छ। जनताले अपेक्षा गरेको परिवर्तन हुन अझै बाँकी रहेको नेता सिंहको भनाइ छ।