काठमाडौं– विद्यार्थी राजनीतिमा निडर र जुझारु अगुवाको परिचय बनाएका कांग्रेसका युवा नेता कुन्दन काफ्लेले पार्टी केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीको गुमेको साख फर्काउन चौधौं महाधिवेशनलाई उपयोग गर्न नेता कार्यकर्तालाई अपिल गर्दै उनले पार्टीको नेतृत्वमा युवाहरुको चयन हुनुपर्ने बताएका छन्।
‘पार्टीको साख जोगाउन पनि युवाहरुको अग्रसरता र नेतृत्व अपरिहार्य छ’, नेपाल समयसँग कुराकानी गर्दै नेता काफ्लले भने, ‘त्यसैले पनि यसपटक मैले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको छु। मेरो निर्णय पार्टी परिवर्तनको बाचासहित सार्वजनिक गरेको छु।’
महाधिवेशनको संघारमा उनले दलका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै एउटा सार्वजनिक अपिल पनि जारी गरेका छन्। अपिलमा उनले भनेका छन् ‘नेपाली कांग्रेसले आफ्नो पुरानो गौरवमय साख फर्काउने घडी आएको छ। कठिन संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रका उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बेला भएको छ।’
अपिलमा उनले आफ्नो उम्मेदवारीको राजनीतिक औचित्यतासँगै दलिय प्रतिबद्धता स्वरुप सात वटा बाचा उल्लेख गरेका छन्। पार्टीका आदर्श व्यक्तित्व, बीपी, गणेशमान र किसुनजीको मौलिक चिन्तनमा दललाई लैजाने, दललाई सबैको चासो, तत्पता र बलिदानको दल बनाउने, नेतामुखी दललाई कार्यकर्तामुखी बनाउने, समयमै अधिवेशन गरेर नेतृत्व हस्तान्तरणको सहज वातावरण बनाउने तथा जनताको सपनालाई उचित संरक्षणार्थ पहल गर्ने जस्ता बाचाहरु नेता काफ्लेले आफ्नो अपिलमा समेटेका छन्।
त्यसैगरी आफ्ना मतदाताको मतको कदर गरिरहने र सधैं जनपक्षमा रहेर सुखदुखको सहयात्री बनिरहने प्रतिबद्धता पनि उनले सार्वजनिक गरेका छन्। अपिलमा उनले आफूले राजतन्त्रविरुद्ध या कम्युनिष्टहरूसँग लड्दा पार्टीका लागि रगत बगाएको पनि स्मरण गरेका छन्। भनेका छन्, मैले पार्टीले दिएको जिम्मेवारी सदैव इमान्दारीसाथ निर्वाह गरिरहेको छु। राजतन्त्रविरुद्ध या कम्युनिष्टहरूसँग लड्दा पार्टीका लागि रगत बगाएको छुु। मैले अन्यायमा परेका साथीहरु बारे नेतृत्व समक्ष सधैँ आवाज उठाएको छु र भविष्यमा पनि उठाउनेछु।’
यसैबीच काफ्लेले बीपी कोइरालाको तस्बिर र सन्देश अंकित उपहार मायाको चिनोका रुपमा देशका १६५ निर्वाचन क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको हात हातमा पठाउने तयारी गरेका छन्। ‘बीपीको चिन्तन र दर्शन मात्र नभएर राजनीतिक मूल्य पनि नेपाली कांग्रेसका लागि सदा सान्दर्भिक छ, रहनेछ। त्यसैले मैले सबै प्रतिनिधि साथीहरुका हातमा यस्तो चिनो पुगोस् भन्ने चाहेको हो’, नेता काफ्लेले भने, ‘यो एउटा अनुक्रम मात्र होइन, अभियान जस्तो पनि हो। राजनीतिक अभियान।’