काठमाडौं – सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बस्न सुझाव दिएका छन्। पाँचदलीय गठबन्धनले जबरालाई बिदामा बसी कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको बैठकमा सहभागी सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
उनले भने, ‘‘प्रधानन्यायाधीश जबरा बिरामी भएकाले तत्काल कार्यवाहक तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष गठबन्धनको छ।’
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेता सहभागी छन्।
प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएपछि सोमबारदेखि अस्पताल भर्ना भएका छन्। अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबराले कायममुकायम तोक्नुपर्ने भन्दै कानुन व्यवसायीले विरोध गरेपछि बुधबारइजलास प्रभावित भएका थिए।