काठमाडौं– नेपाली कांग्रेसको आशन्न चौधौं महाधिवेशनका प्रतिनिधिले २९ वटा मतपत्रमा भोट हाल्नुपर्ने भएको छ। काठमाडौंमा हुने महाधिवेशन अन्तर्गत मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुलिस क्लबमा मतदान केन्द्र तोकिएको छ।
डिजिटल भोटिङ नहुने भएकोले एक जनालाई भोट हाल्न एक घण्टा लाग्ने अनुमान गरिएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनको लोगो आज (बिहीबार) सार्वजनिक गर्ने तयारी छ। सभापति देउवाले दिउँसो २ बजे प्रदेश अधिवेशन एकैसाथ उद्घाटन गरेपछि ४ बजे लोगो सार्वजनिक हुने उनले जनाए।
त्यसपछि प्रचारप्रसारको काम औपचारिक रुपमा सुरु हुनेछ। यसपालिको महाधिवेशनका लागि कांग्रेसले ‘उत्साह एकता रूपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ नारा तय गरेको छ।
पक्ष वा विपक्षको पर्चा च्यात्ने काम कांग्रेसको महाधिवेशन नहुने बताउँदै प्रवक्ता शर्माले भने, ‘कसैलाई निषेध हुँदैन। टेलिभिजन, डिजिटल बोर्ड, पत्रपत्रिका र अनलाइन मार्फत महाधिवेशनको प्रचार हुन्छ।’
आगामी तीन तहको निर्वाचनमा सबैभन्दा बलियो प्रचार संयन्त्र कांग्रेसले बनाउने प्रवक्ता शर्माले सुनाए। भने, ‘कुनै पनि कम्युनिस्ट पार्टीको संयन्त्र भन्दा कम हुन दिइँदैन। प्रचारलाई तीव्र बनाउँछौं र कुनै कुराको खण्डन गर्नुपरे शालीन ढंगले गर्छौं।’
कोभिड संक्रमणको जोखिम कायमै रहेकाले संख्यात्मक रूपमा शक्ति प्रदर्शन नहुने शर्माले जनाए। ‘विशाल भेला गर्दैनौं, मास्क अनिवार्य गर्छौं। उम्मेदवारी दिन निषेध गर्न खोज्ने गरी शक्ति प्रदर्शन कांग्रेसले गर्दैन। संख्याको होडबाजीमा हामी लाग्दैनौं। शक्तिको प्रदर्शन आगामी निर्वाचनको ब्यालेट बक्समा गर्छौं।
प्रकाशित: Dec 02, 2021| 10:20 बिहीबार, मंसिर १६, २०७८