काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको काठमाडौंमा जारी महाधिवेशनमा नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ।
बुधबार उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र बिहीबार निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।
महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा देशभरिबाट करिब ४२ सय महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन्। यसैबिच, राप्रपाले एक ब्यक्ति नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने गरी विधान संसोधन गरेको छ। यससँगै एउटै ब्यक्ति वर्षौसम्म अध्यक्ष रहने परम्परा अन्त्य भएको छ।
आजदेखि कांग्रेसको प्रादेशिक अधिवेशन सुरु
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु हुँदैछ। कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो।
बिहीबार एकसाथ सातै प्रदेश प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुँदैछ।
कांग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएका जनाएको छ। कांग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन्।कांग्रेस कार्यतालिकाअनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुनेछ। नयाँ नेतृत्व चयनका लागि भोलि १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ।
गोला प्रणालीबाट पेशी तोक्न सुरु गरिएको भोलिपल्टै पेशी तोक्ने कार्य अन्योलमा
सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेशी तोक्न सुरु गरिएको भोलिपल्टै पेशी तोक्ने कार्य अन्योलमा परेको छ। कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कायममुकायम नतोकेपछि पेशी तोक्ने कार्य अन्योलमा परेको हो।
बिहीबार सर्वोच्चका न्यायाधीशहरुले गोला नतान्ने भएका छन्। उनीहरूले निकासका लागि प्रधानन्यायाधीश जबरालाई बिदा बस्न आग्रह गर्दै मुख्य रजिस्ट्रारमार्फत सन्देश पठाएका छन्।
रजिस्ट्रारमार्फत प्रधानन्यायाधीशको जवाफ सुन्ने र त्यसपछि बैठक बसेर इजलासमा बस्ने नबस्ने विषयमा निर्णय लिने एक न्यायाधीशले जानकारी दिए। उनका अनुसार सर्वोच्चका १८ जना न्यायाधीशहरुले बिहीबार यसै विषयमा नेपाल बार एसोसिएशनका पदाधिकारीसँग पनि छलफल गर्ने भएका छन्।
एनएमबि बन्यो एसियाकै उत्कृष्ट बैंक
एनएमबि बैंकले एसियाकै उत्कृष्ट बैंकको उपाधि पाएको छ। बैंकले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ पुरस्कार प्राप्त गरेको हो। यो उपाधि पाउने एनएमबि नेपालको पहिलो बैंक हो। बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकर को निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डको लागि एनएमबिलाई छनोट गरेको हो।
चीन, भारत, हङकङ, दक्षिण कोरिया, जापान जस्ता एसियाकै ठूला प्रतिस्पर्धी बैंकहरुलाई पछि पार्दै एनएमबि एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो।
मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य
कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाई गरिएको छ।
बुधबार रातिदेखी लागु हुनेगरी मुस्ताङ प्रवेस गर्नका लागी पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ। कोरोना संक्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए।
हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
आज देशभर मौसम बदली हुने
बिहीबार देशको विभिन्न प्रदेशमा मध्यम वर्षासंगै उच्च पहाडी र हिमा भेगमा मध्ययमदेखी भारी हिमपातको सम्भावना रहेको छ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको हो।
बिहिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसो तापक्रम बढेर २२ दशमलब ४ डिग्री सेल्सीयसम्म पुग्ने महाशाखाले जनाएको छ।
डुंगा दुर्घटनामा परी २९ जनाको मृत्यु
उत्तर पश्चिमी नाइजेरियामा भएको डुंगा दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको उद्धारमा संलग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले जनाएका छन्। उनिहरुका अनुसार दुर्घटनामा परी अन्य करिब एक दर्जन हराइरहेका छन्।
बुधबार कानो राज्यमा उक्त दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परेको डुङ्गामा अत्यधिक भार भएको र खराब मौसमका कारण नदीमा आएको बाढीका कारण डुङ्गाले सन्तुलन गुमाएको हुनसक्ने अधिकारीहरूको प्रारम्भिक अध्ययनले देखाएको छ। ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।