विराटनगर- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशन बिहीबार देखि सुरु हुदैछ। विराटनगरमा हुने प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रचार समितिका संयोजक राजिव कोइरालाले बताए। उनका अनुसार दिउँसो २ बजे अधिवेशन उद्घाटन हुनेछ।
प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया शुक्रबार बिहान ८ बजेदेखि सुरु हुने कोइरालाले बताए। चुनावमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरूले मत खसाल्ने छन्। जसमा शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ संगठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने छन्।
कांग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह‒महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ।
प्रदेश सभापतिमा तीन आकांक्षी
नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा तीन जना आकांक्षी देखिएका छन्। कांग्रेस देउवा‒सिटौला समूहबाट झापाका पुर्व सभापति उद्धव थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्। पौडेल‒कोइराला समूहबाट दुई जना आकांक्षी देखिएका छन्। केन्द्रीय सदस्य गुरुराज घिमिरे र सुनसरीका पूर्व सभापति तथा कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सभापतिमा दाबी गरेका छन्। पौडेल र कोइराला समूहबाट २ जना भए पनि एक जना मात्र उम्मेदवार उठाउनका लागि नेताहरूले छलफल गरे पनि निष्कर्षमा पुग्न सकेका छैनन्। पौडेल-कोइराला समूहका एक नेताका अनुसार मनोनयनका समय सम्ममा एक मात्र उम्मेदवार हुनेछन्।
प्रदेशको राजधानी विराटनगरबाट थापाले आफू उम्मेदवार बन्ने घोषणा गरेका छन्। थापाले कांग्रेसलाई बदलिँदो परिवेशमा लोकतान्त्रिक मूल्य मान्यतासहित दर्बिलो रूपमा अघि बढाउन आफू उमेदवार बन्न लागेको बताएका छन्। उनले झापाको अर्जुनधारा गाउँ समितिमा पार्टीको सचिव, सभापतिको हुँदै क्षेत्रको क्षेत्रीय सभापति, कांग्रेस जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पूरा गरिसकेका छन्। सभापति बाहेकका पदमा टुंगो लाग्न बाँकी रहेको नेताहरूले बताएका छन्।
प्रदेश सभापतिमा पौडेल‒कोइराला समूहबाट सुनसरीका सभापति तथा कांग्रेस १ नम्बर संसदीय दलका नेता राजीव कोइरालाले उम्मेदवारी दिने घोषणा गरेका छन्। आफ्नो योग्यता प्रदेश हाँक्ने भएको कोइरालाले बताए। पौडेल-कोइराला समूहबाटै सभापतिको दौडमा युवा नेता गुरुराज घिमिरे पनि छन्। विद्यार्थी राजनीतिबाट माथि उठेका उनले प्रदेशमा आफ्नो आवश्यकता भएको बताएका छन्।