मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • राजतन्त्र ल्याउन राप्रपाले अभियान चलाउने, ओमिक्रोनको जोखिम बढेपछि विदेश नजान सरकारको आग्रह [२०७८–८–१५]

राजतन्त्र ल्याउन राप्रपाले अभियान चलाउने, ओमिक्रोनको जोखिम बढेपछि विदेश नजान सरकारको आग्रह [२०७८–८–१५]

राजतन्त्रसहित हिन्दूराष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु भएको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

राप्रपाको महाधिवेशन सुरु

राजतन्त्रसहित हिन्दूराष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा आज महाधिवेशन उद्घाटन भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनले अध्यक्षसहित १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ। यसैबिच, महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा र जनताबीच एकता हुनुपर्ने बताएका छन्। राजसंस्था भूराजनीतिक बाध्यता भएको दाबी गर्दै उनले यसलाई बिर्सेको खण्डमा देशको अस्तित्व गुमाउने चिन्ता व्यक्त गरे। यस्तै उनले महाधिवेशनबाट नेतृत्वको आकांक्षा राखेका राजेन्द्र लिङ्देनलाई वर्तमान अझै ४ वर्ष कुर्न आग्रह गरे। पार्टीलाई बलियो बनाएर नेतृत्व हस्तान्तरण गर्ने उनको भनाइ छ। 

राप्रपाका अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने लामो समयसम्म सरकार सञ्चालन गरेका राजनीतिक दलहरु विकासको बाटो देखाउन असफल भएको आरोप लगाए। देशको विकासका लागि अब राप्रपा नै विकल्प बन्ने उनको भनाइ छ।  यस्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले विश्वका कुनै पनि देश धर्म निरपेक्ष नभएको बताए। नेपालमा हिन्दु र बौद्ध धर्मको धरोहर भएकाले यसलाई धार्मिक पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए। 

महाधिवेशनलाई प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरु शुभकामना दिएका छन्। महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जति राजनीतिक दलहरू थोरै भए त्यति राम्रो हुने बताएका छन्। देउवाले मुलुकका राजनीतिक दलहरू महाधिवेशनमा व्यस्त भएको भन्दै नयाँ नेतृत्वले मुलुकलाई सहि दिशा दिने विश्वास ब्यक्त गरे। 

यस्तै सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन्। उनले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने स्पष्ट पारे। तर पनि राप्रपाले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष दाहालको तर्क थियो। 

अध्यक्ष दाहालले राजनीतिक विचारधारा फरक भएर पनि राप्रपाका नेता, कार्यकर्ताहरुले मुलुकमा राजनीतिक अस्थिरता हुन नदिनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा साथ दिने विश्वास समेत व्यक्त गरे।

यस्तै राप्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन्। अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढन पनि सुझाव दिए। नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औंल्याउँदै सोही अनुसार अघि बढेर मुलुकलाई एकतावद्ध बनाउनु पर्नेमा जोड दिए। 

एकिकृत समाजवादीकाअध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरु अहिले पनि सचेत भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए। 

यस्तै राप्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार र सत्तारुढ पाँच दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको आरोप लगाएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय सीमा सुरक्षा बलले तुईन काटेर नेपाली नागरिकको हत्या हुँदासम्म सरकारले चुईक्क बोल्न नसकेको भन्दै राष्ट्रियताको मामिलामा वर्तमान सरकारले निर्लज्जताबाहेक अरु केही देखाउन नसकेको दावी गरे। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धि, विकास र स्वभामानको रक्षाका लागि आफ्नो पार्टीसँग सहकार्य गरेर अघि बढन पनि राप्रपाका नेताहरुलाई आग्रह गरे। उनले आफ्नो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न प्रयास गरिरहेको दावी समेत गरे।  

कांग्रेसले चयन गर्‍यो ६२ जिल्लाको नेतृत्व

नेपाली काँग्रेसको ६२ जिल्लामा पार्टीको नयाँ जिल्ला सभापति चयन भएको छ। 

हालसम्म सार्वजनिक भएको जिल्ला सभातिको नतिजामा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अग्रता लिएको छ। ६२ जिल्ला मध्ये २९ जिल्लामा रामचन्द्र पौडेल निकट सभापतिहरुले जीत हात पारेका छन्। सभापति शेरबहादुर देउवा निकट २८ सभापति निर्वाचित भएका छन् भने कृष्ण सिटौला निकट दुई जना र बिमलेन्द्र निधि निकट एक जना सभापतिमा निर्वाचित भएका छन्।  दुई जना सभापति आफु सर्वसम्मत भएको भन्दै आफु कुनै पक्षमा नभएको बताएका छन्। 

जाजरकोटका सभापति वेदराज सिंह र रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले आफु कुनै पक्षमा नभएको बताएका हुन्। जिल्ला सभापतिमा एक जना मात्र बढि हात पारेको पौडेल पक्षमा महाधिवेशन प्रतिनिधिको संख्या भने झण्डै झण्डै ६० प्रतिशत भन्दा बढि रहेका पाइएको छ।

देशभरबाट मतदाता नामावली दर्ता गर्न सकिने

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ। बुधवार काठमाण्डौमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तक्र्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताएका हुन्।

उनले अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको पनि बताए। प्रमुख आयुक्त थपलियाले आउँदो माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्न आयोगले तयारी गरिरहेको पनि जानकारी दिए। त्यस्तै आयोगले आउँदो जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरुको पद रिक्त हुने भएकोले त्यो अगावै स्थानीय तहको निर्वाचन गनराउन आवश्यक तयारी प्रारम्भ गरेको बताए। 

प्रमुख आयुक्त थपलियाले अब उम्मेद्वारी घोषणा गर्दा उम्मेद्वारको सम्पत्ती विवरण लिने कानून पनि आयोगले बनाएको बताए। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको बेलामा हरेक सात÷सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको र त्यसका लागि अब आयोगले यी कुराहरु हेर्नका लागि स्थानीय तहको निर्वाचन हुँदा ७५३ ठाउँमा अनुगमन गर्ने समिति, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधिसभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि जानकारी दिए।  

अदालतको अवस्था गम्भीर : प्रचण्ड

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अदालतको अवस्था गम्भीर रहेको बताएका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले दिएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले अदालतको अवस्था गम्भीर रहेको बताएका हुन्। उनले नेपालको न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय भएकोले कार्यपालिकाबाट यसको हल हुनुपर्ने बताए। अध्यक्ष दाहालले यो समस्या न्यायपालिकाको मात्रै नभएर समग्र राज्यप्रणालीसँग सम्बन्धित भएकोले समस्या समाधान हुन अब समय नलाग्ने बताए। 

अध्यक्ष दाहालले अहिले सभामुख बाहिर गएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताए। 

अत्यावश्यक नपरी विदेश नजान सरकारको आग्रह
सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ। कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेको हो।

न्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन्। मन्त्रालयले हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको जनाएको छ। 

यस्तै नयाँ देखिएको भेरियन्टबारे समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न सरकारले काम गरिरहेको पनि पनि प्रस्ट पारिएको छ। यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही देशहरूमा तीव्र विस्तार भइरहेको र विश्व स्वास्थ्य संगठनले पनि यसलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेकाले समयमै सावधानी अपनाउनु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

नेपालमा पछिल्लो एक महिना यता कोरोना संक्रमणदर स्थिर संख्यामा रहेको छ। 

हरेक दिन तीनदेखि साढे ३ सयको हाराहारीमा कोरोना संक्रमित थपिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। आज बुधबार पनि देशभर ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

१० हजार ९१९ जनाको पीसीआर र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। बुधबारको दिनमा देशभर ६ हजार ९५४ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ। २४ घण्टामै २५९ जना निको भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश तथा विदेशका लगानी कर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन्। 

उनले नेपालमा लगानी गर्नेहरुको सम्पत्ती र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताए। प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकायहरु मिलेर काम गर्नुपर्ने बताए। उनले नेपालको अर्थतन्त्रको गुणात्मक वृद्धिमा विदेशी विकास साझेदारको पनि त्यत्तिकै आवश्यकता रहेको बताए। 

प्रधानमन्त्री देउवाले छोटो समयमा मुलुकको मुहार फेर्ने गरी विकास गर्नुपर्ने र सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको पनि प्रष्ट पारे। उनले सरकार अर्थतन्त्रलाई सुधार्न आवश्यक नियमन र सहजीकरणको पक्षमा रहेको पनि बताए।  

विमानस्थलमा सटल बसको सेवा सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा आएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको हो। बुधबार सो सटल बसको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले गरे। त्यस अवसरमा बोल्दै मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगी नियन्त्रण गर्न भनिएको बताए। मन्त्री आलेले पटक पटक आफैले निर्देशन दिँदा समेत यात्रु लुट्ने क्रम जारी नै रहेपछि सटल बसको व्यवस्था गर्र्नु परेको स्पष्ट पारे। 

पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई आग्रह गरे। मन्त्री आलेले विमानस्थलको क्यान्टिन तथा कफी पसलमा रहेको मँहगी १५ प्रतिशत सस्तो भएको तर ट्याक्सीहरुले भने अटेर गरेको बताए। त्यस्तै, आजबाट नै वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको पनि पर्यटन मन्त्री आलेले उद्घाटन गरे। विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताए।

अब विमानस्थलमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बसमा सित्तैमा यात्रा गर्न पाउने छन्। सटल बसले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई सेवा दिनेछन्। 

विद्यालय अनुगमनमा शिक्षामन्त्रीको चासो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गरेका छन्। मन्त्री पौडेलले आज बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन गरेका हुन्।  अनुगमनको क्रममा उनले कक्षा कोठामा भईरहेको शिक्षण सिकाईका बारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरे। मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले ती विद्यालयहरुको अनुगमनको काम सुरु गरेको जानकारी दिए। उनले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिएको बताए। मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाई प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न पनि शिक्षकहरुलाई निर्देशन दिए।

मन्त्रीको अनुगमनका क्रममा संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउँदै त्यसको व्यवस्था मिलाउन आग्रह गरे। यता मन्त्री पौडेलले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। 

दिल्लीमा बढ्यो प्रदूषण

भारतको राजधानी दिल्लीमा गत महिनादेखि विगत ६ वर्षयता सबैभन्दा प्रदूषण बढेको छ। नोभेम्बरका ११ दिन दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको थियो जुन सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी रहेको बीबीसीले जनाएको छ। नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको तथ्यांले देखाएको छ। विज्ञहरूले नजिकका राज्यहरूमा खेतमा पराल जलाउँदा र दिपावालीका कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताएका छन्।

लम्बिएको मनसुनले पराल बाल्ने कार्यलाई नोभेम्बरमा धकेलेको कारण वायु प्रदूषण बढेको वायु स्तर मापन एजेन्सीले जनाएको छ। दिपावालीको दिन प्रतिबन्धलाई अटेर गर्दै दिल्लीवासीले पटाकाहरू बाल्दा त्यसको भोलिपल्ट त्यहाँको वायु प्रदूषण उच्च स्तरमा पुगेको थियो।

प्रकाशित: Dec 01, 2021| 20:02 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।