काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको सरकारले संविधानको पालनामा मतलव नगरेको आरोप लगाएका छन्।
उनले सरकार र सत्तारुढ पाँच दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको आरोपसमेत लगाएका छन्। काठमाडौंमा बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकताको महाधिवेशनमा बोल्दै अहिलेको सरकारले संविधान र कानुन विपरीतको कामहरुको आरोप लगाएका हुन्।
उनले भने, ‘वर्तमान सरकार र सत्तारुढ दलहरुले संविधानको पालना गर्ने कुराको मतलब राखेनन्। कानूनको बर्खिलापमा गएका छन्। जारी भएका विकासका योजनाहरुलाई समाप्त पार्ने कुरा गरिरहेका छन्। राष्ट्रिय स्वाभिमान नामको चीजलाई लत्याएका छन्। यस खालको स्थिति हामीले देखिराखेका छौं । म यहाँहरुलाई यो महाधिवेशन सफल होस् भनेर शुभकामना दिइँरहँदा एउटा निवेदन मैले गर्नै पर्दछ कि हामी राजनीतिक विचारमा जुनसुकै ठाउँमा उभिएको हौं। एउटा कुरामा हामी सबैको ध्यान जान जरुरी छ। देशभन्दा ठूलो अरु केही हुन सक्दैन। देश हाम्रो लागि सर्वोपरी हो।’
उनले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दलहरुलाई एकतावद्ध हुन पनि आह्वान गरेका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय सीमा सुरक्षा बलले तुईन काटेर नेपाली नागरिकको हत्या हुँदासम्म सरकारले चुईक्क बोल्न नसकेको भन्दै राष्ट्रियताको मामिलामा वर्तमान सरकारले निर्लज्जताबाहेक अरु केही देखाउन नसकेको दाबी समेत गरे।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि आफ्नो पार्टीसँग सहकार्य गरेर अघि बढन पनि राप्रपाका नेताहरुलाई आग्रह गरेका छन्। उनले आफ्नो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न प्रयास गरिरहेको दाबी समेत गरेका छन्।