काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राप्रपा र नेकपा मालेका महासचिव सीपी मैनालीबीच दोहोरी चलेको छ। बुधबार भृकुटीमण्डपमा भएको उद्धाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामनाका क्रममा मन्तव्य दिँदा दोहोरी चलेको हो।
मन्तव्यका क्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले माओवादी युद्ध असफल भएको बताएका थिए। उनले बोलिसकेर प्रचण्डको पालो आएपछि प्रचण्डलेसमेच उनलाई जवाफ फर्काएका थिए।
‘हिजो उहाँ (सिपी) राजतन्त्रविरुद्ध लाग्नुभयो, अहिले त राजाको तारिफ गर्नुभयो,' प्रचण्डले भने, 'उहाँ त राप्रपाको अध्यक्षमा उठ्दै हुनुहुन्छ कि जस्तो लाग्यो।’
यस्तै आफ्नो पार्टी माओवादी केन्द्र र राप्रपाको विचार मिल्नेसमेत उनले बताएका थिए। देश र जनताको पक्षको विचारमा दुवै पार्टीका विचार मिल्ने उनको भनाइ छ।
‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन। तर, देश र जनताको पक्षमा भने समान छ,' प्रचण्डले भने, ‘त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ।’