काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राप्रपा र आफ्नो पार्टी माओवादी केन्द्रको विचार मिल्ने बताएका छन्। देश र जनताको पक्षको विचारमा दुवै पार्टीका विचार मिल्ने उनको भनाइ छ।
भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रचण्डले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा राप्रपा र माओवादी केन्द्रका धारणा मिलेको बताएका हुन्।
‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन। तर, देश र जनताको पक्षमा भने समान छ,' प्रचण्डले भने, ‘त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ।’
पूर्ववर्ती वक्ता नेकपा मालेका महासचिव सिपी मैनालीले माओवादी युद्ध असफल भएको बताएपछि प्रचण्डले उनलाई पनि प्रहार गरेका थिए। ‘हिजो उहाँ (सिपी) राजतन्त्रविरुद्ध लाग्नुभयो, अहिले त राजाको तारिफ गर्नुभयो,' उनले भने, 'उहाँ त राप्रपाको अध्यक्षमा उठ्दै हुनुहुन्छ कि जस्तो लाग्यो।’