बिहीबार, भदौ ४, २०८३

कांग्रेस गण्डकी प्रदेश सभापतिमा चार जना आकांक्षी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। 

प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने एकजना संस्थापन समूह र तीन जना संस्थापन इतर समूहका रहेका छन्। हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेदवारी घोषणा गरेका छन्। 

उम्मेदवारी घोषणा नगरेका भए पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापासमेत प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ। आकांक्षीमध्ये उम्मेदवारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेदवार मानिन्छन्। उनी कास्की कांग्रेसमा १७ वर्षसम्म सभापति बनिसकेका छन्।

२०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी हाल ७५ वर्षका भए। यसअघि उनी रामचन्द्र पौडेल पक्ष धर थिए। यद्यपि उनी सबै नेताको आफूलाई आशीर्वाद रहेको बताउँदै आएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका शर्माले आफूले कांग्रेसको नेतृत्व गर्न पाएमा पार्टी बलियो बनाउने बताए।

त्यस्तै कास्कीबाट नै उम्मेदवारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहकै नेता हुन्। उनले विद्यार्थी कालदेखि राजनीति सुरु गरेका हुन्। उनी सांगठनिक रूपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्छन्। उनी गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट पराजित  भएका थिए। 

सभापतिको उम्मेदवार घोषणा गर्दै पार्टीलाई स्वतन्त्ररूपमा अघि बढाउन र गण्डकी प्रदेशमा कांग्रेसलाई बलियो बनाउन आफूले सक्दो भूमिका खेल्ने उनले बताए।

त्यस्तै तनहुँबाट उम्मेदवारी घोषणा गरेका नेता रघुनाथ पौडेल पनि रामचन्द्र पौडेल पक्षधर हुन्। तनहुँका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा तीन कार्यकाल नेतृत्व गरिसकेका छन्। उनले आफूलाई वरिष्ठ नेता पौडेलसहित सशांक कोइरालालगायतको साथ रहेको बताएका छन्। नेता पौडेलले कांग्रेस नेतृत्व वर्गले उचित भूमिका ननिभाएका कारण पार्टी खुम्चिँदै गएको बताएका छन्।

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन्। उनीसँग कांग्रेसका केन्द्रीय सदस्यसँगै पर्वतको तीन पटक पार्टी सभापति भएर काम गरेका अनुभव छ। उनले देउवा पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन्। 

कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ। कांग्रेसका नेताहरूको उम्मेदवार छनोट र  निर्वाचन आफ्नो पक्षमा पार्ने भन्दा बलियो कांग्रेस बनाउन पूर्व सभामुख तारानाथ रानाभाटले नेतृत्वलाई सुझाव दिएका छन्। उनले कांग्रेस बलियो भए मात्रै देश बलियो हुने भन्दै जनताको सुरक्षाका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताए।

कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेशन र प्रदेश प्रतिनिधि गरी करिब दुई हजार जनाले मतदान गर्ने छन्।

प्रकाशित: Dec 01, 2021| 12:44 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...