काठमाडौं- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता महरले १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
१४औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्दै उनले १४ एजेन्डा अगाडि सारेका छन्। एक व्यक्ति एक पद दुई पटकमात्र, प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता वितरण, सरकार र पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्क स्थापना, बिपी विचारको समय सापेक्ष कार्यान्वयन, व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता, रूपान्तरणका लागि युवा कांग्रेसको स्थापनालगायत एजेन्डा उनले सार्वजनिक गरेका छन्। यिनै एजेन्डालाई अवलम्बन गर्दै अगाडि बढ्ने महरले बताएका छन्।
‘यसपालि म केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन्छु। म कुनै पनि पदमा दोहोरिएर बस्दिनँ,’ उनले भने। उनले युवा नेतृत्व आजको अपरिहार्यता भएको बताएका छन्।
युवा जोस र पुराना नेताको अनुभवलाई आत्मसाथ गर्दै आफू सधैँ राजनीतिमा सक्रिय रहने महरले बताए। उनले कुनै पनि नेतामा पद लोलुपता हुन नहुने बताएका छन्। सोही कारण आफू कुनै पनि पदमा एक कार्यकाल मात्र रहेर काम गर्ने उनले बताए। काम गर्नेहरूका लागि एक कार्यकाल नै पर्याप्त हुने उनी बताउँछन्।
'एउटै पदमा एकै व्यक्ति बसिराख्नु हुँदैन। अरूलाई पनि काम गर्ने अवसर दिनुपर्छ। त्यस्तो भयो भने सबैले राजनीति गर्ने अवसर पनि पाउँछन्', उनले भने।
महर नेविसंघका पूर्वअध्यक्ष हुन्। उनी डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि पनि छन्।
१. एक व्यक्ति, एक पद, दुई पटकमात्र
२. प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता
३. सरकार र पार्टी सञ्चालनका लागि थिंक ट्यांक स्थापना
४. बिपी विचारको समयसापेक्ष कार्यान्वयन
५. व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता
६. रूपान्तरणका लागि युवा कांग्रेस स्थापना
७. नेतृत्व आवधिक कार्ययोजना महाधिवेशनमै
८. लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व, कुशल व्यवस्थापन
९. योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनका आधारमा सम्मान
१०. निःशुल्क स्वास्थ्य-शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार
११. लगानीमैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार
१२. विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान
१३. कानुनी राज्य, मानव अधिकार, सुशासन र समावेशिता
१४. राष्ट्रिय स्वार्थकेन्द्रित विदेश नीति