काठमाडौं- सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विवादित बनेसँगै मुद्दाको पेसी बहिस्कार गर्दै आएका न्यायाधीशहरूले आजबाट गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकेर बहसमा सहभागी हुने निर्णय गरेका छन्।
प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चका न्यायाधीशहरूले ८ कात्तिकदेखि इजलास बहिष्कार गर्दै आएका थिए। सर्वोच्चका न्यायाधीशहरू ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंने भएका हुन्।
नेपालमा न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो। यस्तो अभ्यास जिल्ला अदालतमा भने भएको थियो। तर, पछि हटाइएको थियो।
यो प्रक्रियामा सहभागी हुनका लागि सुरुमा न्यायाधीशहरूले गोला तानेर आफ्नो इजलासका लागि सहकर्मी न्यायाधीश छनोट गर्नेछन्। उपस्थित न्यायाधीशको संख्याका आधारमा इजलास टुंगो लागिसकेपछि उक्त इजलासले कुन मुद्दा हेर्ने भन्ने निर्धारण गर्न अर्को गोला तानिनेछ।
गोला तान्न एउटै रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ। निर्देशिकाअनुसार त्यस्ता गोटीलाई अपारदर्शी थैलीमा राखेर वरिष्ठताका आधारमा न्यायाधीशहरूले एक–एकवटा गोटी तान्नेछन्। त्यसरी तानेको गोटी सम्बन्धित न्यायाधीशले सीसीक्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाउनुपर्नेछ, जसको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा पनि रहनेछ।
सर्वोच्चको गत ९ मंसिरको फुलकोर्ट बैठकको निर्णयअनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै १५ मंसिरदेखि गोलाप्रथा प्रणाली लागू हुने निश्चित गरिएको थियो। राजपत्रमा प्रकाशित सूचनाअनुसार यस्तोखाले गोलाप्रथा बुधबारबाट लागू हुने उल्लेख गरिएको छ।
गोलाप्रथा प्रणाली लागू भएपछि सर्वोच्चमा ७० वर्षअघिदेखि प्रधानन्यायाधीशले पेसी तोक्दै आएको परम्पराको अन्त्य भएको छ।