विराटनगर– चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा प्रदेश १ बाट २८ जनाले डेब्यू गरेका छन्।
प्रदेश १ बाट पदाधिकारीमा एक दर्जन र केन्द्रीय सदस्यमा झण्डै एक सय जना आकांक्षी मध्ये अध्यक्षमा केपी शर्मा ओलीसहित पदाधिकारीमा तीन र ४१ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
पदाधिकारीमा ओली र योगेश भट्टराई बाहेकका नेताहरूले आफूले चाहेको पद पाउन सकेनन्। एमाले नेतृत्वमा पुग्नका लागि १५ वर्ष अझै बाँकी रहेको भन्दै सचिवमै बस्ने निष्कर्षमा पुगेका ताप्लेजुङका प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराईले चाहेको पद पाए। इलामका सुवासचन्द्र नेम्वाङ एक तह घट्दै उपाध्यक्षमा चित्त बुझाउन बाध्य भए।
उपाध्यक्षमा दाबी गर्दै आएका लालबाबु पण्डितले चाहेको पद पाएनन्। उनले केन्द्रीय सदस्य पद अस्वीकार गर्दै मतदान प्रक्रियामा पनि भाग लिएनन्। मतदान अगावै उनले चितवन छाडे। उपाध्यक्षमा दाबी गर्दै आएका देवराज घिमिरे केन्द्रीय सदस्यमा बस्न बाध्य भए। केन्द्रीय कमिटीमा उनी निर्वाचित र मनोनीत हुँदै २५ वर्ष बिताउनेमा पर्ने भएका छन्। लगातार २० वर्ष उनी केन्द्रीय कमिटीमा पर्दै आएका छन्।
मतदान भए लड्ने बताए पनि उनी केन्द्रीय सदस्यभन्दा माथि जान सकेनन्। सचिवमा पुनः दाबी गर्दै आएका भीम आचार्य निर्वाचनमा पराजित भए। उनले सम्मानजनक मत ल्याएका छन्। महाधिवेशनको एक दिन अघि कोभिड भएपछि उनी महाधिवेशनमा सहभागी हुन पाएनन्।
सचिवका आकांक्षी जीवन घिमिरे, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, गुरु बराल, राजेन्द्र गौतम, डा. शिवमाया तुम्वाहाम्फे केन्द्रीय सदस्यमा रहे।
केन्द्रीय कमिटीमा डेब्यू गर्ने को-को हुन?
२०७१ मा सम्पन्न ९औं महाधिवेशनमा निर्वाचित बाहेक १०औं महाधिवेशनमा २८ जनाले केन्द्रीय कमिटीमा प्रवेश पाएका छन्।
झापाका देवेन्द्र दाहाल, रोमनाथ ओली, मेनका काफ्ले, हरि राजवंशी, गीता अधिकारी, अग्नि खरेल, जितु गौतम, गोविन्द थापा, मिना उप्रेती र सुनिता बराल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। गीता अधिकारी स्थायी कमिटीबाट मनोनीत हुँदै महाधिवेशन प्रतिनिधि भएकी थिइन्। उनी दमक नगरपालिकाकी उपप्रमुख हुन्। गौतम, थापा, उप्रेती र बराल नयाँ हुन्। बराल अनेरास्ववियु अध्यक्ष हुन्।
दमकका नगर प्रमुख रोमनाथ ओली पनि केन्द्रीय सदस्यमा निर्वाचित भए। झापाबाट देवराज घिमिरे, हिक्मतकुमार कार्की र रविन कोइराला यसअघि नै केन्द्रीय सदस्य भइसकेका नेता भित्र पर्छन् । झापाबाट अध्यक्ष ओली सहित ९ जना केन्द्रीय कमिटीमा परेका छन्।
मोरङका जीवन घिमिरे, गुरु बराल, भानुभक्त ढकाल, डा. शिवमाया तुम्वाहाम्फे, विनोद ढकाल, रामलाल साह र तारा राई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। ढकाल, साह र राई नयाँ हुन्। साह मोरङ उपाध्यक्षबाट सोझै मधेसी कोटामा केन्द्रीय सदस्य बनेका हुन्।यस्तै मोरङबाट मोती दुगड नयाँ हुन्। उनी उद्योगी हुन्।
सुनसरीका जगदीशप्रसाद कुसियत, तैयव हुसेन, भगवती चौधरी, लक्ष्मी गौतम, मञ्जु भण्डारी र अमृता सुब्बा केन्द्रीय सदस्य बनेका छन्। गौतम, भण्डारी र सुब्बा नयाँ अनुहार हुन्। गौतम र भण्डारी इटहरी र धरान नगरका उपप्रमुख हुन्। भण्डारी भूगोलबाट प्रतिनिधि नभएपछि स्थायी कमिटीबाट मनोनीतमा परेकी थिइन्।
ताप्लेजुङका योगेश भट्टराई सचिव र तिलकुमार मेन्याङ्बो केन्द्रीय सदस्यमा निर्वाचित भए। मेन्याङ्बो नयाँ अनुहार हुन्। पाँचथरका वसन्त नेम्वाङ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। नेम्वाङ पनि नयाँ अनुहार हुन्। इलामका सुवास नेम्वाङ उपाध्यक्ष र राम राना केन्द्रीय सदस्य भए। राना केन्द्रीय कमिटीमा नयाँ अनुहार हुन्।
यस्तै ताप्लेजुङबाट पासाङ शेर्पा, टंक आङबुहाङ र उर्मिला थेबे केन्द्रीय कमिटीमा अटाएका छन्। शेर्पा, आङबुहाङ र थेबे नयाँ अनुहार हुन्। आङबुहाङ माओवादी पृष्ठभूमिका हुन्। उनी १० महिना अघि एमालेलेमा प्रवेशमा गरेका थिए।
धनकुटाका राजेन्द्र राई पनि केन्द्रीय कमिटीमा नयाँ हुन्। संखुवासभाका राजेन्द्र गौतम केन्द्रीय सदस्यमा निर्वाचित भए। उनी ९औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए भने आठौंमा केन्द्रीय सदस्यमा निर्वाचित हुँदै तत्कालीन कोसी इन्चार्ज भएका थिए।
भोजपुरका शेरधन राई र हरि राई केन्द्रीय सदस्य बनेका छन्। हरि राई नयाँ हुन्। उदयपुरबाट अम्बिका थापा र मञ्जु चौधरी केन्द्रीय सदस्यमा परेका छन्। दुवै नयाँ हुन्। थापा प्रदेश कमिटीबाट मनोनीत हुँदै महाधिवेशन प्रतिनिधि भएकी थिइन्। उनी प्रदेश सभा सदस्य हुन्।
खोटाङबाट उषाकला राई केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन्। उनी पनि नयाँ अनुहार हुन्। राई प्रदेश १ की पूर्व सामाजिक विकास मन्त्री तथा संविधान सभा सदस्य हुन्। खोटाङका विशाल भट्टराई केन्द्रीय सदस्यमा अटाएनन्। उनलाई प्रदेश कमिटीको जिम्मेवारी दिने तयारी छन्। भट्टराई प्रतिनिधि सभाका प्रमुख सचेतक हुन्।
ओखलढुङ्गाका यज्ञराज सुनुवार र किशोर अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भए। अधिकारी केन्द्रीय कमिटीमा नयाँ अनुहार हुन्।