विराटनगर- नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। दिलीप गच्छदारलाई ४८१ मतअन्तरले पराजित गर्दै उनी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन्।
संस्थापन इतर समूहका उनले १ हजार ९०६ मत ल्याए भने संस्थापन समूहका गच्छदारले १ हजार ४२५ मत ल्याएका थिए। ३ हजार ३५६ मत खसेकोमा २५ मत बदर भएको थियो।
आइतबार भएको मतदानमा सभापतिका उम्मेदवारले ५० मत नकटाएपछि मंगलबार दोस्रो चरणको मतदान गरिएको थियो। चुनावी प्रतिस्पर्धामा रहेका यदु विष्ट तेस्रो भएपछि उनले सोमबार पत्रकार सम्मेलन गरी गच्छदारलाई समर्थन गर्ने घोषणा गरेका थिए।
कांग्रेस नेता डा. शेखर कोइराला निकट सभापतिका उम्मेदवार लिम्बूलाई हराउन चौतर्फी घेराबन्दी गरिएको थियो। कोइराला समूहमा रहेका विराटनगर महानगर प्रमुख भीम पराजुलीलगायतका जिल्ला नेताहरू संस्थापन लाइनमा गएका थिए।
सभापति बाहेकका अन्यपदमा मतगणना जारी रहेको जिल्ला निर्वाचन समितिका संयोजक केदार कार्कीले जानकारी दिए।