मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • ओलीले रोजेजस्तै बन्यो एमाले टिम, बारको आन्दोलन शिथिल [२०७८-८-१४]

ओलीले रोजेजस्तै बन्यो एमाले टिम, बारको आन्दोलन शिथिल [२०७८-८-१४]

नेकपा एमालेको चितवन महाधिवेशनले केपी शर्मा ओलीलाई पुनः ५ वर्षका लागि एमालेको नेतृत्वमा स्थापित गरेको छ।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

ओलीले रोजेजस्तै बन्यो टिम  

नेकपा एमालेको चितवन महाधिवेशनले केपी शर्मा ओलीलाई पुनः ५ वर्षका लागि एमालेको नेतृत्वमा स्थापित गरेको छ। सर्वसहमतिबाट अध्यक्ष हुने प्रयत्नमा रहेका ओलीको इच्छामा भीम रावल बाधक भएसँगै उनी निर्वाचन लड्न बाध्य भएका थिए। मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अनुसार उनी रावललाई १६२० मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्।

निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार ओलीले १८४०  मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२० मत पाएका छन्। रावललाई फराकिलो मतान्तरले पराजित गरेसँगै पुनः एमालेको बागडोर थप ४ वर्ष ओलीले नै सम्हाल्ने भएका छन्। 

यस्तै चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट उपाध्यक्ष पदमा ओलीले प्रस्ताव गरेका नेताहरु नै निर्वाचित भएका छन्। अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली र रामबहादुर थापा बादल उपाध्यक्ष पदमा विजयी भएका हुन्। घनश्याम भुसाल भने उपाध्यक्ष पदमा पराजित भएका छन्। यस्तै सचिव पदमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन्। उनीहरु सबैजना अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नेता हुन्। छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन्। 

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवगरी ५ जना पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् भने महासचिव पदमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन्। 

जिल्ला नेतृत्वमा पौडेल-देउवा समान

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ।

हालसम्म ५६ जिल्लाका सभापतिहरूको नतिजा आएको छ। पछिल्लो परिणाममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ। हालसम्म संस्थापन अर्थात् देउवानिकट २७ जना सभापति निर्वाचित भएका छन् भने वरिष्ठ नेता पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले पनि २७ जिल्लामा सभापति जितेको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट दुईजना जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

यसैबिच नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गरेका छन्। उपसभापति निधिले पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन पार्टी सभापति देउवासँग माग गरेका छन्। 

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा अनसनमा बसेका काँग्रेस डडेलधुराका नेता, कार्यकर्तालाई भेटन पुगेका उनले सञ्चारकर्मीमाझ निर्वाचन समितिले गराउने विभिन्न तहको अधिवेशनलाई बैधानिकता दिन पनि पाँच सदस्यीय बनाउनुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसबारे सभापति देउवालाई छिट्टै भेटेर ध्यानाकर्षण गराउने जानकारी समेत दिए।  

पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी समेत घोषणा गरेका निधीले आफूसँग परामर्श समेत नगरी निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएको भन्दै महादेव यादवप्रति पनि असन्तुष्टि जनाए। 

निर्वाचनको तयारीमा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आगामी आम निर्वाचनको तयारीमा लागेको बताएका छन्।

पार्टीका रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडेको श्रद्धाञ्जली सभालाई बुटवलमा सम्बोधन गर्दै प्रचण्डले मुलुक चुनावतिर जान लागेको र आफ्नो पार्टीले पनि त्यसको तयारी गरेको बताए। उनले सबै पार्टीहरुले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताए। 

उनले चुनाव धाँधलीरहित, विश्वसनीय र सबैको पहुँचमा हुनुपर्ने धारणा राखे। प्रचण्डले मुलुक समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको बताए।

बुधबार सुरु हुँदै राप्रपा महाधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन भोलिबाट काठमाडौंमा सुरु हुँदैछ। 

महाविधेशनमा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ। यसैबिच, अध्यक्ष प्रकाशचन्द्र लोहनी पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा उभिएका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष लोहनीले पार्टीभित्र नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने आफ्नो भनाई र विश्वास रहेको उल्लेख गर्दै राप्रपाको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनको पक्षमा उभिएको स्पष्ट पारे। अध्यक्ष लोहनीले पार्टीका अन्य दुई अध्यक्ष कमल थापा र पशुपति शमशेर राणालाई पनि अभिभावकीय भूमिका निर्वाह गर्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन आग्रह गरे। 

पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टीका अर्का अध्यक्ष कमल थापालाई समयको पद्चाप बुझेर विश्राम लिन आग्रह गरे। उनले आफू पार्टी अध्यक्ष बन्दा कसैले अपमानित महसुश गर्नु नपर्ने पनि बताए। 

उनले पार्टी भित्रको मात्रै नभई देशकै अपरिहार्य आवश्यकताले आफूले पार्टीको नेतृत्व लिन चाहेको बताए। नेता लिङ्देनले देश र धर्म बचाउनका लागि राप्रपा बलियो बनाउने बताए। 

बार आन्दोलन झन् शिथिल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनको आन्दोलन झन् शिथिल बनेको छ। 

प्रधानन्यायाधीश टसको मस नभएपछि शिथिल बनेको बारको आन्दोलन कालो पट्टीमा सिमिट बनेको छ। आन्दोलन शिथिल बनेपछि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारका सबै ईकाइलाई परिपत्र गर्दै कालोपट्टी बाँधेर आन्दोलन जारी राख्न तर न्यायिक सम्पादनका काममा फर्कन आग्रह गरेका छन्। 

कुनै बेला सर्वोच्च अदालतमा हुने न्याय सम्पादनका सबै काम रोकेर आन्दोलनमा होमिएको बार आन्दोलन शिथिल बनेपछि अब कालोपट्टीमा मात्र सीमित भएको हो। यद्यपि बारले पूर्व प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै पाईएकोले तत्काल जिल्ला, उच्च तथा विशेष अदालत नियमावली संशोधन गरी गोला प्रणाली लागू गर्ने, गराउने व्यवस्था मिलाउन सर्वोच्च अदालत फूलकोर्टसँग जोडदार माग समेत गरेको छ।

आमिक्रोनप्रति सचेतता

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ।

मंगलबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताए। 

प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा टंकलाल घिसिङलाई नियुक्ति गर्ने, चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने, रेडियो सञ्चार लाइसेन्स पाचौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। त्यस्तै सरकारले लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

प्रवक्ता कार्कीले राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवहरुलाई सरुवा गर्ने निर्णय समेत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ भने, शहरी विकास मन्त्रालयमा कार्यरत सचिव डा. रमेश सिंहलाई अतिरिक्त समूहमा सरुवा गर्ने निर्णय गरेको छ। 

स्वेदशी वस्तुमा आकर्षण 

स्वदेशमा नै उत्पादन भएको जुत्ता, चप्पल तथा छालाजन्य बस्तुमा ग्राहककोे आकर्षण बढ्दै गएको छ। 

१९ दिनदेखि काठमाडौंको भृकुटीमडण्पमा चलिरहेको जुत्ता, चप्पल तथा छालाजन्य बस्तुको प्रर्दशनीमा स्वदेशी उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको देखिएको आयोजकले बताएको छ। सोमबारसम्म मात्रै सञ्चालन गर्ने भनिएको प्रर्दशनी ग्राहकहरुको भिड बढ्दै गएकाले मंसिर १९ गतेसम्म सञ्चालनमा रहने बताइएको छ। शिखर जुत्ता कम्पनीका स्टल प्रमुख राजु उप्रेतीले स्वदेशी उत्पादनका जुत्ता चप्पलमा प्रर्दशनीमा आउने ग्राहकको आकर्षण देखिएको बताए। 

उप्रेतीले प्रर्दशनी मेलामा स्टल राखिएका कम्पनीले स्टक सक्ने किसिमले पुराना जुत्ता चप्पल नराखिएको बताउनु भयो।उहाँले भर्खरै उत्पादन भएका ताजा जुत्ता चप्पलनै स्टलमा राखिएको बताएका छन्। प्रर्दशनीमा आउने ग्राहकहरुले पनि स्वदेशी उत्पादनलाई प्रोसाहन गर्नु पर्ने बताएका छन।स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता चप्पल सहुलियत मूल्यमा पाइने भएकाले स्वदेशी कम्पनीको उत्थान गर्नु पर्ने  ग्राहकहरुको भनाई छ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको आयोजनामा कार्तिक २६ गतेदेखि सञ्चालन रहेको छ। मेलामा छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ। प्रदर्शनी भर करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ।

घटेको घट्यै नेप्से

पछिल्लो तीन दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापछि लगातार ओरालो लागेको हो।

मंगलबार कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ। आज कारोबारमा आएका २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँमा कारोबार भएको छ। 

कारोबार रकम पनि सोमबारको भन्दा घटेको छ। सोमबार ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको किनबेच भएको थियो।नेप्सेका १३ उपसमूहमध्ये ६ उप–समूहको शेयर मूल्य बढेको छ भने बाँकी ७  सूचकहरुको घटेको छ। आज कारोबारमा १०१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ। 

ओमिक्रोनविरुद्ध खोप बनाउने रुसको तयारी

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ। 

रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोना भाइरसको नयाँ भेरियन्टअनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ। केन्द्रका अधिकारीहरुले कोरोना भाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन्। 

उनीहरुले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाँडै नै हुन सक्ने विश्वास पनि व्यक्त गरेका छन्। ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरुले बताएका छन्। अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्ने गरी खोप उत्पादन गर्न सकिने उनीहरुको भनाइ छ।

दोस्रो चरणका खेल सकिए

सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो चरणका खेल सकिएका छन्। तेस्रो चरणका खेल तालिका पनि सार्वजनिक भइसकेको छ।

दोस्रो चरणको खेल सकिदा सम्म पोखरेली टोली मनाङ मस्र्याङ्दी फुटबल क्लबले स्पष्ट जित निकाल्दा हेभि वेटको खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

दोस्रो चरणको खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले उपाधि दाबेदार मानिएको थ्री स्टार क्बलमाथि १–० को जित निकाल्दै सनसनीपूर्ण नतिजा निकाल्दा हेभि वेटको रुपमा हेरिएको मच्छिन्द्र र विभागीय टोली त्रिभुवन आमीले गोल रहित बराबरी खेले। लगातारका खेलमा जित निकालेको मनाङले तालिकामा शीर्षता कायम राख्दा समान ४ अंक जोडेका पाँच क्लब संकटा, ब्रिगेड ब्वाइज, मच्छिन्द्र, नेपाल पुलिस र सातदोबाटो युथ क्लब क्रमस दोस्रो, तेस्रो, चौथो, पाँचौ स्थानमा अटाएका छन्।

प्रकाशित: Nov 30, 2021| 20:29 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।