काठमाडौं- नेकपा एमालेको १० औं केन्द्रीय कमिटीको बैठक केही समयमा बस्ने भएको छ। पार्टीको नेतृत्वमा विजयी भएपछि महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले अबको केही समयमा १० औं केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने जानकारी दिएका हुन्।
उनले भने, 'हाम्रो १० औं केन्द्रीय कमिटीको पहिलो बैठक आजै बस्दैछ। अबको केही समयमा । सायद अधिकतम आधा घण्टामा यही अथवा महाधिवेशन हलमा बैठक बस्नेछ।' अहिले केही समयमा बस्ने बैठकले पार्टीको अर्को बैठक मंसिर २५ मा सुरु हुने निर्णय गर्ने बताएका छन्।
उनले थपे, 'आज छोटो समयका लागि बस्ने बैठकले २५-२६ गते शनिबारका दिन अर्को बैठक बस्ने गरी निर्णय गर्नेछौं। त्यस बैठकबाट अरु निर्णयहरु गर्छ। स्थायी कमिटी र पोलिट ब्युरो बनाउनुपर्नेछ। ती कामहरु हामीले गर्छौं। त्यसैगरी कार्ययोजना तयार गर्नुपर्नेछ। त्यसका विषयमा पनि हामीले औपचारिक प्रस्तावहरु ल्याएर छलफल गर्छौं।'
अध्यक्ष ओलीले अब तीन महिनासम्म एकीकरणको अभियान सञ्चालन गर्नेसमेत जनाएका छन्। उनले भने, 'अब आगामी निर्वाचनसम्म एकीकरणको अभियान सञ्चालन गरिन्छ। पार्टीसँग एकता होइन, कार्यकर्तासँग एकता हो। अरु पार्टीका कार्यकर्ता भेला गर्ने हो। कार्यकर्ता प्रवेश गराउनुपर्छ। एउटा अभियान सञ्चालन गरेर पार्टीलाई अघि बढाउनुपर्छ।'