बुटवल- मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालमा असन्तुष्ट समूहले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेका छन्। ३१ जिल्लाका १९१ जना प्रतिनिधिको भेलाले पूर्व सांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो।
मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी समन्वय समिति गठन गरेको जनाएको छ। समितिको प्रवक्तामा कृष्णराज पौडेल चयन भएका छन्। संयोजक नेपालीले नेकपा मसाल दक्षिणपन्थी, अधिनायकवादी र स्वेच्छाचारी भएकोले विद्रोह गर्नुपरेको बताए।
नेतृत्वले आफूहरुको कुरा अस्वीकार गरेको भन्दै एक वर्षभित्र नयाँ कम्युनिष्ट पार्टी गठन गर्ने उनको भनाई छ। समन्वय समितिमा पार्टी नेताहरु विमल शर्मा, रामबहादुर बुढा, गोविन्द सिंह थापा, जीवन शर्मा, नारायण योगी, शशिधर भण्डारी, गंगाधर शर्मा, बाबुराम आचार्य, दीपक पौडेल लगायतका नेताहरु छन्।