ललितपुर - ललितपुरको नखिपोटमा कार्यक्रम चलिरहेको थियो। ललितपुरका कांग्रेस सभापति मदनबहादुर अमात्यले कार्यालयको स्ट्याम्प र खाता नवनियुक्त सभापति जितेन्द्र कुमार श्रेष्ठलाई बुझाए लगत्तै भने, ‘मेरो कुर्सी स्टेजबाट हटाउनुस्।’
लगत्तै उद्घोषकले पूर्वसभापति मदन बहादुर अमात्यलाई बोल्न आग्रह गर्दै स्टेजमा बोलाए। कार्यक्रममा बोल्दै उनले भने, 'म आजबाट पूर्वसभापति भए। त्यसैले स्टेजबाट कुर्सी हटाउन आग्रह गरेको हुँ।'
मदन बहादुरले आफू इमानदार भएर जिल्लाको निर्वाचन पुरा गरेको बताए। उनले भने,‘मैले निर्वाचनमा कसैलाई छोएको पनि छैन। तर हात हालेको आरोप लगाए।’
बोले लगत्तै निवर्तमान अध्यक्ष अमात्य कार्यक्रमबाट निस्किए। कार्यक्रममा जिल्लाको निर्वाचनमा प्रतिस्पर्धा मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारलगायत पराजित उम्मेदवार सहभागी नहुँदा निर्वाचनमा भएको प्रतिस्पर्धाको तीतोपना अझै कायम रहेको बुझ्न सकिन्थ्यो।
कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति श्रेष्ठले आफू कुनै कार्यकारी पदमा बसेर काम नगर्ने घोषणा गर्दै भने, ‘म कुनै पनि निर्वाचनमा भाग लिन्न। वडा पालिका र क्षेत्रबाट आएको सिफारिसको आधारमा निर्वाचनमा लड्ने उम्मेदवार छान्छु। सबैको सल्लाहमा वार्षिक क्यालेन्डर बनाउँछु।’ कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरणसँगै शपथ ग्रहणसमेत गराइएको थियो।