बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेतृत्वले सत्ता केन्द्रित राजनीतिमा जोड दिँदा पार्टी कमजोर भयो : प्रकाशमान सिंह

नेतृत्वले सत्ता केन्द्रित राजनीतिमा जोड दिँदा पार्टी कमजोर भयो : प्रकाशमान सिंह

पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गर्दै उनले तल्लो तहदेखि केन्द्रसम्म पार्टीलाई विधिसम्मत् रुपमा चलाउनुपर्नेमा जोड दिएका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शक्तिकेन्द्रित राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाएका छन्।

मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली कांग्रेसमा आदर्श र मूल्य, मान्यताको राजनीतिलाई महत्व नदिई शक्तिकेन्द्रित राजनीतिलाई जोड दिन थालिएको बताएका हुन्। 

आदर्शको राजनीति नहुँदा पार्टीभित्र कमिकमजोरी देखा पर्न थालको उनले बताएका छन्। 

पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गर्दै उनले तल्लो तहदेखि केन्द्रसम्म पार्टीलाई विधिसम्मत् रुपमा चलाउनुपर्नेमा जोड दिएका छन्। 

उनले भने, ‘१७ सालदेखि ४६ सालको पिरियडसम्म कांग्रेस मुल्य र मान्यताको राजनीतिमा आधारित थियो। ४६ पछि मूल्य, मान्यताको राजनीतिलाई महत्व नदिइकन, आदर्शको राजनीतिलाई महत्व नदिइकन शक्तिकेन्द्रीत राजनीतिमा जोड दिइयो। सत्ताको राजनीतिलाई जोड दिएको कारणले गर्दाखेरी कमी कमजोरी देखा पर्न थालेको छ। प्रजातान्त्रिक पार्टी, आन्तरिक लोकतन्त्रको अभ्यास त हुनुपर्‍यो। तल्लो तहदेखि केन्द्रसम्म पार्टीको विधान अनुसार पार्टी चल्नुपर्‍यो। विधिसम्मत्, नियमसम्मत् तवरले पार्टी चल्नुपर्‍यो। संस्थागत रुपमा पार्टी चल्नुपर्‍यो।’

नेता सिंहले नेपालका राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसकेको बताए। राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसक्दा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई जनतासम्म प्रभावकारी रुपले पुर्‍याउन नसकिएको उनको भनाई छ। 

राजनीतिक पार्टीमा भएका कमी, कमजोरी र विकृतिहरुलाई हटाउनुपर्ने उनले बताए। उनले भने, ‘राजनीतिक पार्टी संस्थागत गर्नै सकेको छैन सबभन्दा कमजोरी पक्ष । जुन दलले नेतृत्व गर्‍यो, क्रान्ति गर्‍यो। त्यही दलमा संस्थागत हुन नसकेपछि त गाह्रो हुँदोरहेछ नि। प्राप्त भएका जुन अधिकारहरु हुन्, प्राप्त गरेका जुन उपलब्धिहरु छन् ति उपलब्धिहरुलाई जनतासम्म पुर्‍याउनको लागि प्रभावकारी माध्यम भनेको राजनीतिक दल हो। राजनीतिक पार्टीमा कमीकमजोरी के हो भन्दाखेरी पार्टी संस्थागत नै हुन सकेको छैन। संस्थागत नभएको कारणले, अहिले सिस्टममा नै कमी, कमजोरीहरु देखा परेको कारणले, राजनीतिक कमी कमजोरीहरुलाई फिल्टर गर्ने त पार्टीहरु हुन् नि त । कांग्रेसमा देखा परेका कमी, कमजोरी, विकृतिहरु हटाउनका लागि फिल्टर गर्न जोड दिए राम्रो हुन्छ।’

उनले प्रजातान्त्रिक प्रणालीको रक्षाको निम्ति कांग्रेसलाई मजबुत बनाउनुपर्ने बताएका छन्। कांग्रेसलाई विधिसम्मत्, नियमसम्मत् र संस्थागत रुपमा चुनौती सामना गर्नसक्ने प्रभावकारी पार्टीको रुपमा परिणत गर्नु आवश्यक रहेको उनको भनाई छ।


प्रकाशित: Nov 30, 2021| 14:14 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...