काठमाडौं- नेकपा एमालेका नेता शेरबहादुर तामाङले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनका लागि केपी ओलीको अगुवाई नै आवश्यक भएको बताएका छन्।
नेता तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताएका छन्।
चितवनको सौराहमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता तामाङले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि पार्टीको १० औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा केन्द्रीय कार्य समिति चयन गर्नु परेको बताए।
उनले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आगामी निर्वाचनमा दुई तिहाई मत दिएर विजयी गराउन आम जनतालाई आफूहरुले आग्रह गरेको समेत बताएका छन्।
नेता तामाङले भने, ‘केही महिनाभित्र हामी निर्वाचनमा जाँदैछौं। हामीलाई विश्वास छ- केपी ओलीको अगुवाईमा हामी निर्वाचनमा जितेर बहुमतसहित र बहुमत मात्रै होइन, अझ हामी दुई तिहाई मागी रहेका छौं। किनभने न्यायालयमा देखिएको आजको बबण्डर, आजको जुन त्यो अप्ठ्यारो स्थिति छ । त्यसलाई अन्त्य गर्न एकचोटी नेकपा एमालेले दुई तिहाई लिएर न्यायालयभित्र देखिएका सबै खालका विसंगतीहरुलाई अन्त्य गर्नेगरी हामी अगाडि बढछौं। त्यो भएको हुनाले हामी त्यो दुई तिहाईसहित सरकारमा फर्कने गरी त्यसको अगुवाई केपी ओलीले गर्नु हुन्छ र हामी सबैको त्यो विश्वास भएकाले महाधिवेशनले पनि उहाँलाई त्यो अधिकार दिएको हो। उहाँले प्रस्तुत गर्नु भएको नाम सर्वसम्मत छ। योग्यभन्दा पनि योग्य छ।’