काठमाडौं– राप्रपाको अध्यक्षमा उम्मेदवारको घोषणा गरेका राजेन्द्र लिङ्देनले देशको अपरिहार्य आवश्यकता सम्बोधन गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्।
उनले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘म अध्यक्ष बन्नका लागि होइन, देशको अपरिहार्य आवश्यकताको सम्बोधन गर्न आफूले उम्मेदवारी दिएर नेतृत्व परिवर्तन गर्न चाहेको हुँ।’
उनले हिन्दु राष्ट्र र राजसंस्थालाई जोगाउने आफ्नो मुख्य मुद्दा रहेको पनि बताए। उनले भने, ‘म अध्यक्ष भएमा महिनाभित्रमा राप्रपा बाहिर भएका राजा र हिन्दु राष्ट्रका समर्थकलाई एकजुट बनाउनेछु।’ उनले नेताहरुलाई समयको पदचाप बुझ्न आग्रह गरे।
लिङ्देनले भने, ‘राप्रपाका मात्र होइन, देशभित्रका राप्रपाका समर्थकको आवाज सुन्नुपर्ने भएको छ।’ राप्रपा बनाउन राप्रपाबाहिरका मानिसलाई ल्याउनुपर्ने उनको भनाइ छ। उनले कमल थापालाई यस पटकका लागि विश्राम गर्न आग्रह गरे। उनले भने, ‘म दोस्रो पुस्ताको प्रतिनिधित्व बनेर लड्न चाहेको होइन। अहिलेको सन्दर्भमा राप्रपाभित्र नेतृत्व परिवर्तन अपरिहार्य भएको छ।’