काठमाडौं- नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा विजयी भएका छन्। कांग्रेस संस्थापन पक्षका थापाले संस्थापन इतरका अष्टकुमार कवेलाई पराजित गरेका हुन्। थापा यसअघि पनि भक्तपुरका सभापति थिए।
सोमबार भएको मतदानको मंगलबार बिहानै परिणाम आएको हो। विजेता थापाले ५५५ मत पाउँदा पराजित कवेले ४४२ मत ल्याए। जिल्ला सभापतिसँगै भक्तपुरमा संस्थापन पक्षले क्लिन स्वीप गरेको छ। उपसभापतिमा विजेश अवाल र उर्मिला वन, सचिवमा राजेश खड्का र सुशील बस्नेत तथा सहसचिवमा कृष्णमुरारी न्यौपाने र यादवप्रसाद अधिकारी निर्वाचित भएका छन्।
पराजित कवे कांग्रेस नेता प्रकाशमान सिंह पक्षीय हुन्। उनलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला र विमलेन्द्र निधि पक्षीय नेताहरुले पनि समर्थन गरेका थिए।
दुई समूहमा विभाजित कांग्रेसले भक्तपुरमा नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भने बराबर हात पारेका छन्। जिल्ला सभापति जितेको संस्थापन समूहले प्रतिनिधिसभा क्षेत्र नं. १ मा जीवन खत्री, प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा जयन्द्र खड्का र क्षेत्र नं. २ (क) मा प्रदीप कार्की तथा चाँगुनारायण नपामा शिवहरि केसी र सूर्यविनायक नपामा निशान ढुंगेल सभापति जितेको छ।
संस्थापनइतर समूहले भक्तपुर क्षेत्र नं. २ मा भेषबहादुर कार्की, प्रदेशसभा निर्वाचन क्षेत्र नं( १ (ख) मा शिवप्रसाद अवाल र क्षेत्र नं. २ (ख) ओमप्रकाश श्रेष्ठ तथा भक्तपुर नपामा राजेन्द्र तमखू र मध्यपुर थिमि नपामा हरिदास प्रजापति सभापति जितेको छ।