काठमाडौं- चितवनको सौराहामा जारी नेकपा (एमाले)को दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन समितिले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्। आफ्नो उम्मेदवारी सदस्यमा नभई अध्यक्षमा मात्रै भएको स्पष्ट पार्दै उनले उनले आफू केन्द्रीय सदस्यको उम्मेदवार नभएको प्रस्ट पारेका छन्।
पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा र बाँकी केही केन्द्रीय सदस्यका लागि मतदान सुरु भएको छ। पटक पटक संशोधन हुँदै सोमबार राति २ बजेका लागि तय भए पनि निर्वाचन बिहान ४ बजेपछि मात्रै सुरु भएको हो।
अध्यक्षका उम्मेदवार रावलले आफूले अध्यक्षमा चुनाव हारेको खण्डमा केन्द्रीय सदस्य पनि नरहने बताएका छन्।
उनले मध्यरातमा निर्वाचन गर्नु गलत भएकोसमेत प्रतिक्रिया दिए। सदस्यता नवीकरण, वितरण र पदाधिकारी चयनमा व्यापक रुपमा गलत काम भएको उनले आरोप लगाएका छन्।