मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • एमाले अध्यक्ष बन्न ओली र रावल मैदानमा, चितवन महाधिवेशनप्रति माधव नेपालको कटाक्ष [२०७८-८-१३]

एमाले अध्यक्ष बन्न ओली र रावल मैदानमा, चितवन महाधिवेशनप्रति माधव नेपालको कटाक्ष [२०७८-८-१३]

पदाधिकारीअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने देखिन्छ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

नेकपा (एमाले)को जारी महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको सूची प्रकाशन गरेको छ। सूचीअनुसार केही समूहमा निर्विरोध र धेरैजसो समूहमा निर्वाचन हुने देखिएको छ।

पदाधिकारीअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने देखिन्छ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ।

केपी ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षबाहेक घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि उपाध्यक्ष पदमा पनि निर्वाचन हुने भएको छ।

उपाध्यक्ष पदमा भुसालसँगै ओलीले प्रस्ताव गरेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ पनि उम्मेदवार छन्। त्यसैगरी ओलीद्वारा प्रस्तावित सात सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी परेपछि सचिवमा समेत चुनाव हुने भएको हो।

सचिव पदमा ओलीले टोपबहादुर रायमाझी, छवीलाल विश्वकर्मा, लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम सिफारिस गरेका थिए। यीसहित थप २ जनाको उम्मेदवारी परेपछि सचिव पदमा निर्वाचन हुन लागेको हो। 

यसैगरी खुला ८४ जना केन्द्रीय सदस्यमा ८५ जनाको मात्रै उम्मेदवारी परेको थियो। तर यसमा भने सहमति निकालिएको छ। 

निर्विरोध निर्वाचित पनि 

नेकपा एमालेको अध्यक्ष पदमा निर्वाचन भएपनि केही महत्वपूर्ण पदमा भने नेताहरु निर्विरोध निर्वाचित भएका छन्। 

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन्। वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित भएका छन्। यस्तै महासचिव पदमा शंकर पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन्। अरु कसैको उम्मेदवारी नपरेपछि उनी पनि स्वत महासचिव पदमा निर्वाचित भएका हुन्। 

त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन्। मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन। जसका काण उनीहरु पनि निर्बिरोध निर्वाचित भएका हुन्। 

चितवनको तमासाले विद्रोह गर्नको कारण पुष्टि भयो : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले विद्रोह गर्नुपरेको कारण चितवनको तमासाले पुष्टि गरेको बताएका छन्। 

सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टीभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताए। एमालेले कुनै पनि जनवादी अधिकार नदिने र विचारको बहस नचलाउने प्रवृत्तिले नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट भएको भन्दै एमाले अधोगतितर्फ गइसकेको दाबी गरे। 

नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर ५ दलीय गठबन्धन सरकार बनाएको र मुलुक र संविधान मास्नेहरूबाट मुक्ति दिलाउने दाबी गरे। क्रान्तिबाट प्राप्त उपलब्धिको जगेर्ना गर्न र त्यसप्रति अत्यन्त सजग भएको बताए। देशलाई प्रगतिको दिशामा अघि बढाउन नेकपा एकीकृत समाजवादी लागि पर्ने उनको भनाइ छ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर गरिएको छ।

प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम रहेकामा त्यसलाई मंसिर १७ गतेका लागि सारिएको छ। मंसिर  १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए। केन्द्रीय महाधिवेशन पनि उम्मेदवारी मनोनयन दर्ता महाधिवेशनको उद्घाटन कार्यक्रमपछि अर्थात मंसिर २५ गते हुनेछ। 

यसअघि निर्वाचन समितिले उद्घाटनअघि नै मंसिर २१ गते नै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो। सोमबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिका पदाधिकारीहरुसँग छलफल गरेका थिए। छलफलमा नेताहरुले महाधिवेशन उद्घाटन हुनुअघि नै मनोनयन दर्ता गर्नु व्यवहारिक नभएको भन्दै संशोधन गर्न आग्रह गरेका थिए। त्यसपछि महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गरेको निर्वाचन समितिका एक सदस्यले बताए। कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ।

कांग्रेस वडा अधिवेशनमा  झडप

नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीमा आज (सोमबार) पनि झडप भएको छ। विवादपछि आइतबार गोली चलेको थियो।

आइतबार गोली चलेपछि रोकिएको अधिवेशन सोमबार सुरु भएसँगै झडप भएको हो। झडपमा मतदान अधिकृतसहित पाँच जना घाइते भएका छन्। बलरा नगरपालिका–८ को वडा अधिवेशनको क्रममा झडप भएको हो। झडपको क्रममा मतदान अधिकृत उमेशचन्द्र झासहित तीन जना प्रहरी र एक सर्वसाधारण गरी पाँच जना घाइते भएका छन्। झा माथि आक्रमण भएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपपछि अहिले अवस्था सामान्य रहेको सर्लाहीका एसपी कृष्ण प्रसाईले बताए।

सहमहामन्त्रीमा पाण्डेको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले पार्टीको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रिय सदस्य पाण्डेले पार्टीको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन। उनले पार्टी सुधारेर राजनीति सुधार्ने र राजनीति सुधारेर देश सुधार्ने बाटोमा लैजान आफू अग्रसर रहने बताए। केन्द्रिय सदस्य पाण्डेले विचारमा एकरुपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको आफ्नो पहिलो एजेण्डा भएको बताएका छन्। 

केन्द्रीय सदस्य पाण्डेले देशभरका साथीहरुले पदाधिकारीमा पुग्नुपर्छ भन्ने सुझाव आएपछि उम्मेदवारी दिएको बताए। 

राप्रपा अध्यक्षका लागि कमल थापाको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। 

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन। उनले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताए। उनले उकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई एकपटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताए। 

अध्यक्ष थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरुलाई अपरिवर्तनीय नदेख्न चेतावनी दिए। आफू बन्दुकसँगै खेलेर हुर्किएको भन्दै उनले प्रचण्डलाई बन्दुक बोकेर जंगल पसेको धाक नलगाउन पनि चेतावनी दिए। 

अध्यक्ष थापाले आगामी निर्वाचनबाट काँग्रेस र एमालेपछि तेस्रो ठूलो शक्तिको रुपमा राप्रपा उदाउने दाबी गरे। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आगामी निर्वाचनमा देशको अग्रणी शक्ति रुपमा स्थापित गर्दै चाँडो भन्दा चाँडो हिन्दु राष्ट्रसहितको राजसंस्था स्थापना घोषणा गर्ने आधार तय भएपछि स्वभाविक रुपले आफूले पार्टीबाट विश्राम लिने बताए। 

मौद्रिक नीतिको समीक्षाले निराश बनायो : शेखर गोल्छा 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिको त्रैमासिक समीक्षाले निजी क्षेत्रलाई निराश बनाएको बताएका छन्। 

न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समीक्षाको विषयमा कुरा गर्दै अध्यक्ष गोल्छाले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको समीक्षामा गरिएको व्यवस्थाले निजी क्षेत्रलाई निराश बनाएको बताएका हुन्। 

उनले निजी क्षेत्रले ठूलो चुनौती सामाना गरेर लगानी गरेका कारण अहिले अर्थतन्त्र आधारभूत रुपमा बलियो बन्दै गएको उल्लेख गरेका छन्। निजी क्षेत्र सरकारले सहयोग गरे कोरोना महामारीले निम्त्याएको जोखिम मोल्न तयार रहेको उनले बताएका छन्। 

उता पुर्व अर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। 

सोमबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिदै कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीतिको आएकाले सकारात्मक रहेको बताए। 

डा.महतले नेपालमा राष्ट्र बैंकले उद्योग व्यवसायलाई थप सेवा सुविधा सहज बनाउनको लागि केही वर्ष देखि मौद्रिक नीतिको व्यवस्था गरेको बताए। यसरी राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका केहि सकारात्मक पक्ष छन्। मौद्रिक नीति मार्फत आएका व्यवस्थालाई सबैले स्वभाविक मान्नु पर्ने बताएका छन्। 

ओमिक्रोनको संकट

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरनाक छ भन्ने विषयमा अध्ययन भइरहेको बताएको छ। 

डब्ल्यूएचओको नेपाल कार्यालय प्रमुख राजेश सम्भाजीराव पाण्डवले ‘ओमिक्रोन’ धेरै संक्रामक हो वा होइन भन्ने कुराको अध्ययन भइरहेको बताएका हुन। उनले डब्ल्यूएचओले नयाँ भेरियन्टको बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको पनि बताए। 

प्रमुख पाण्डवले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि सदा झैँ मास्क अनिवार्य लगाउनु पर्ने, हात मिचिमिचि धुनुपर्ने, सभा सम्मेलनहरु रोक्नुपर्ने बताए। उनले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएको झैँ एकै ठाएँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताए। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो। यसबारेमा हालसम्म डब्ल्यूएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ।

सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा गृह मन्त्तालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताएका छन्। उनले नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको बताए। 

प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताए। दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ पुष्टि भएको थियो। त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप चुनौती बढेको भन्दै शतर्कता अपनाउन चेतावनी दिएको छ।

२५९ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६४ जना निको भएका छन्। सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार६०९ पुगेको छ। 

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ भने ८ लाख २ हजार ६५३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ जना रहेका छन्। 

इरानसँग वार्ता गर्ने शक्तिराष्ट्रको तयारी 

सन् २०१५ मा भएको परमाणु सम्झौता पुनः ब्युँत्याउने प्रयासमा विश्वका शक्ति राष्ट्रहरुले इरानसँग वार्ताको थालनी गर्ने भएका छन्। 

परमाणु सम्झौता भंग हुनबाट जोगाउने प्रयासस्वरुप भियनामा छलफल हुने भएको हो। पाँच महिनाअघि पनि वार्ता भएको थियो, तर सहमति जुट्न सकेको थिएन। अधिकारीहरुले भियनामा हुने वार्तामा परमाणु सम्झौतामा अमेरिकालाई पुनः ल्याउने सम्भावित विकल्पहरुबारे छलफल गर्नेछन्। 

राखेपमा घिसिङ नियुक्त

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो। युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले सदस्य सचिवको निर्णय गरेको हो। 

खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि तीन जनाको नाम मन्त्रीपरिषद्मा पेश गरेका थिए। उनले माओवादीका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, अच्युत लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रीपरिषद्मा पेश गरेका थिए। मन्त्रालयले गठन गरेको सदस्य सचिव सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। 


प्रकाशित: Nov 29, 2021| 20:47 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।