काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भएको कांग्रेसको अधिवेशनलाई पार्टीको निर्वाचन वैधानिकता प्रदान गरेको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा बसेको बैठकले तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसहितको उजुरीमाथि छानबिन गर्दै पुनः निर्वाचन गर्न नपर्ने ठहर गरेको हो।
निर्वाचन समितिले भनेको छ, 'समितिमा परेका उजुरीसमेतलाई मध्यनजर गरी निर्णयतर्फ विचार गर्दा डडेल्धुरा जिल्लाका तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसमेतले यस समितिमा दिएको उजुरी र गुनासाको निकासका लागि यस समितिबाट केही विल्मब भएकोजस्तो देखिए पनि जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले यस समिति समक्ष पेश गरेको प्रतिवेदनसहितको सिफारिस र निष्कर्षलाई अन्यथा मान्न मिलेन, डडेल्धुरा जिल्लाका निर्वाचन अधिकृतको सिफारिस र निष्कर्ष मिलेकै देखिएकोले यस सम्बन्धमा थप निर्णय गरिरहनु परेन।'
बहुमतको सो निर्णयमा निर्वाचन समितिका सदस्य सीताराम केसीले भने लिखितरूपमा फरक मत राखेका छन्। उनले निर्वाचन अधिकृतले नै धाँधली गरेको भन्दै डडेल्धुराको निर्वाचनलाई वैधानिकता दिन नमिल्ने राय व्यक्त गरेका छन्।
डडेल्धुरामा पुनः निर्वाचन गराउनुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा मल्ल समूहले अनसन जारी राखेका छन्। रामचन्द्र पौडेल, शेखर कोइरालालगायतका नेताहरूले डडेलधुराको निर्वाचनलाई मान्यता नदिने भन्दै पुन: निर्वाचन हुनुपर्ने बताइरहेका छन्।